काठमाडाैं । २६ नोभेम्बर २००८ । भारतको आर्थिक राजधानी मुम्बईमा आतंककारी हमला भयो । हमलामा परी १ सय ६० जनाभन्दा बढीले ज्यान गुमाए । यो घटनाले भारतसहित अन्य देशलाई त्राहिमाम् बनायाे ।
घटनाको जाँचपड्ताल गरिरहँदा भारतले यसको तार सीधा पाकिस्तानसँग जोडिएको आरोप लगायो । यसका लागि उसले इस्लामी आतंकवादी संगठन एलईटीका संस्थापक र यससँग जोडिएको धार्मिक संगठन जमात–उद–दावा प्रमुख हफिज सइदलाई गिरफ्तार गर्नुपर्ने माग राख्यो ।
यससम्बन्धमा भारतले पाकिस्तानलाई कैयौं फाइल पठायो । यिनै फाइललाई आधार मानी पाकिस्तानमा सात जनालाई अभियुक्त बनाइयो ।
तर, नोभेम्बर २६ को हमलाला लिएर अभियुक्तमाथि न त मुद्दा नै चलाइयो, न दोषी करार ।
यस मुद्दामा रावलपिन्डीको अदियाला जेल कोर्टमा ट्रायल सुरु भएको थियो । भारत–पाकिस्तान दुवैतर्फबाट परस्पर विरोधी दाबी गरे ।
भारत भन्छ, बारम्बार प्रमाण दिइरहँदा पनि पाकिस्तानले अभियुक्तविरुद्ध कुनै कारबाही चाल्दैन । अर्कोतिर भारतले कुनै ठोस प्रमाण पेस नगरेको पाकिस्तानको भनाइ छ ।
पाकिस्तान अर्थात् बचाउ पक्षका वकिल रिजवान अब्बासीका अनुसार भारतले उपलब्ध गराएका फाइल, रेकर्ड आदिको अदालतमा कुनै मूल्य नै छैन । अझ अब्बासी त मुद्दाका लागि भारतले कुनै प्रमाणसमेत पाकिस्तान नपठाएको बताउँछन् ।
‘यसमा कुनै प्रमाण छैन । केवल आरोपबाहेक’, अब्बासी भन्छन्, ‘पाकिस्तानले भारतसँग २४ जना साक्षी पठाउन भनेको थियो । परराष्ट्र मन्त्रालयलाई पनि पत्र लेखिएको हो । यो मुद्दामा पक्ष (साक्षी) राख्नका लागि जिम्मेवारीको रुपमा फोकल पर्सन नियुक्ति पनि गरिएको थियो । तर, भारतको तर्फबाट साक्षी आउँछन् कि आउँदैनन् भन्ने कुनै जवाफ आएन ।’
मार्च २०१२ र अक्टोबर २०१३ मा पाकिस्तानी प्रतिनिधि मण्डलले प्रमाण संकलन गर्न भनी भारत यात्रा गर्याे । तर, पहिलो यात्रा सफल बनेन । दोस्रो यात्रामा भने भारतले साक्षी बनेकासँग कुरा गर्ने अनुमति नै दिएन ।
‘भारतको लापरबाहीका कारण मुद्दा बलियो हुन पाएन । उसले महत्वपूर्ण प्रमाण दिएकै छैन’ लाेक अभियाेजक अकरम कुरेसी भन्छन् ।
यो विषयसँग जोडिएका भारतीय लोक अभियोजक उज्ज्वको भनाइअनुसार, सुरक्षाका कारण आफ्ना साक्षीहरू पाकिस्तान जाँदैनन् । यदि उनीहरू यहाँ (भारत) आउन चाहेर वास्तवमै आतंकवादसँग लड्न चाहन्छन् भने भारत स्वागत गर्न तयार छ । ‘आफूहरूले पाकिस्तानलाई प्रमाण उपलब्ध गराएको र त्यहाँको न्यायिक आयोगलाई भारत आउन दिने भनिएको थियो । उनीहरू भारत आएर पाँच साक्षीसँग सोधपुछ पनि गरेका थिए’ उनको तर्क छ ।
इस्लामावादस्थित बीबीसी संवाददाता सुमैला जाफरीका अनुसार दुवै देशले आरोप–प्रत्यारोप गरिरहेका छन् । परिणाम, नोभेम्बर २६ का कथित षड्यन्त्रकारीविरmद्ध पाकिस्तानमा कुनै कारबाही हुन सकेको छैन ।
कहाँ छन् त हफिज सइद ?
मुम्बई हमलापछि इस्लामिक आतंकवादी संगठनका नेता हफिज सइदलगायत सह–संस्थापक जकिउर रहमान लखभीमाथि मुद्दा चलाउन माग भएको थियो ।
यति बेला हफिल लाहौरस्थित लखपत जेलमा बन्द छन् । पाकिस्तानको चरमपन्थीविरोधी अदालतले सन् २०२० मा मनी लन्ड्रिङका तीन मुद्दामा कूल २५ वर्षको जेल सजाय सुनाएको छ । उनै हफिजलाई अमेरिकाले कुनै बेला अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्दै जानकारी दिनेलाई १ करोड डलर पुरस्कार घोषणा गरेको थियो ।
अमेरिकामा सेप्टेम्बर ११ मा भएको हमलापछि हफिजलाई पाकिस्तानस्थित उनकै घरमा थुप्रैपटक नजरबन्दमा राखियाे । तर, कुनै मुद्दा भने दर्ता भएन ।
मुम्बई हमलापूर्व सन् २००१ मा भारतीय संसद्माथि भएको हमला र २००६ को मुम्बई बम विस्फोटमा हफिजको हात रहेको आरोप भारतले लगाएको थियो । पछि के पनि थाहा भयो भने, पाकिस्तानी सेनाका उच्चाधिकारीसँग हफिजको घनिष्ठ सम्बन्ध भएका कारण कुनै मुद्दा दायर गरिएन ।
खासमा नोभेम्बर २६ मा के भएको थियो ?
१० चरमपन्थी आतंककारी समुद्रको बाटो भएर मुम्बई प्रवेश गरे । र, लियोपोल्ड क्याफे, सीएसएमटी स्टेसन, पाँचतारे होटल ताज, ओबरय र नरिमन हाउसमा हमला गरे ।
प्रहरी र आतंककारीबीच ६० घण्टाभन्दा बढी समयसम्म भिडन्त चल्यो । जसमा १ सय ६० जनाले मृत्युवरण गरे । १० आतंककारीमध्ये अजमल कसाब मात्रै जीवित पक्राउ परे ।
र, उनलाई पुनेको यरवदा सेन्ट्रल जेलमा २१ नोभेम्बर २०१२ मा फाँसी दिइयो ।
–बीबीसीको सहयोगमा क्यापिलट नेपाल डेस्क ।