काठमाडौं । अमेरिकामा जेनिस सलुशनले शाखा विस्तार गरेको छ । डिजिटल प्रविधि सेवा प्रदान गर्ने जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा पहिलो शाखा कार्यालय खोलेको हो ।
ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु रहेका छन् । जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो ।
जेनिसले पहिलादेखि नै अमेरिकाका केही ठूला बैंकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५ सय कम्पनीलगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य जनाएको छ ।
‘संयुक्त राज्य अमेरिका सूचना, सञ्चार तथा प्रविधि उद्योगमा संसारकै सबैभन्दा ठूलो बजार हो र त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा हो । नेपालमा एउटा बलियो कार्यसञ्चालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा हाम्रा विशिष्ट सेवाहरु उपलब्ध गराउने छौं ।’
जेनिस सलुशनका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयाँलले भने, ‘हामी एउटा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, सञ्चार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक स्रोत मुलुकको रुपमा स्थापित गर्न पनि चाहन्छौं ।’
जेनिसले एडब्लूएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्वभरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ । अमेरिकी बजारमा भने उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेसन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एस इ ओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध हुने बताइएको छ ।
यसअघि विश्व बैंकको आईएफसीअन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सलटेन्सी कम्पनी, जेनिस सोलुसन प्रालि, मा झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको लगानी गरेको थियो ।
बिजनेस अक्सिजन प्रालि विश्व बैंकअन्तर्गत रहेको आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फन्ड हो । जेनिस सोलुसनले उक्त लगानी नेपालमा ‘हाइब्रिड क्लाउड’ सुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने सेवाहरुमा उल्लेख्य वृद्धि गर्न चालू पुँजीको रुपमा उपयोग गरिरहेको छ ।