भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोएडा अन्तर्राष्ट्रिय एयरपोर्टको आज शिलान्यास गरेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोमिटरको दूरीमा निर्माण हुन लागेको यो विमानस्थल एसियाकै ठूलो र भारतको पहिलो प्रदूषणमुक्त हुने बताइएको छ ।
योसँगै एउटै प्रदेशमा पाँचवटा विमानस्थल हुने उत्तर प्रदेश (युपी) पहिलो प्रदेश बन्नेछ । बुद्धनगरको जवर इलाकामा निर्माण हुने विमानस्थल उत्तरी भारतको ‘लोजिस्टिक गेट–वे’ हुने मोदीको दाबी छ ।
केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाका अनुसार यसको अनुमानित लागत ३४ हजार करोड रहनेछ । जसअन्तर्गत पहिलो चरणको काम सन् २०२४ सम्ममा सम्पन्न हुनेछ । पछि यो विमानस्थल आईजीआई विमानस्थलभन्दा पनि अघि जाने सिन्धियाको भनाइ छ ।
पहिलो चरणमा नोएडा विमानस्थलमा ८ हजार ९ सय १४ करोड खर्च हुनेछ । सुरुआती चरणमा वार्षिक यात्रु सञ्चालनको क्षमता झन्डै डेढ करोड हुनेछ । १ हजार ३ सय ३० हेक्टर क्षेत्रमा निर्माण हुने उक्त विमानस्थलले लखनउका अधिकांश अन्तर्राष्ट्रिय यातायातलाई सम्हाल्नेछ ।
पश्चिमी उत्तर प्रदेशबाट १५ प्रतिशत यातायातबाहेक अरू दिल्लीमा आउँछन् । यसले दिल्ली, नोएडा, अलिगढ, आगरा, फरिदाबाद र त्यस आसपासका यात्रुलाई सेवा दिने बुझिएको छ ।
विमानस्थलबारे दस तथ्य यस्ता छन्ः
- भारतमा एकीकृत मल्टी–मोडल कार्गो हबसँगैको विमानस्थल अवधारणा पहिलो हुनेछ ।
- यसलाई दिल्ली–बनारस हाई–स्पिड रेलसँग जोडिनेछ । विमानस्थल र दिल्लीको यात्रा २१ मिनेट मात्रको हुनेछ ।
- विमानस्थलले ग्राउन्ड ट्रान्सपोर्टेसन सेन्टर बनाउनेछ । त्यसमा मल्टिमोडल ट्रान्जिट हब, हाउजिङ मेट्रो, हाई–स्पिड रेल स्टेसन, ट्याक्सी–बस सेवा र निजी पार्किङ सुविधा हुनेछ ।
- पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल हुने उत्तर प्रदेश भारतकै पहिलो प्रदेश बन्नेछ ।
- भारतको पहिलो प्रदूषणमुक्त बन्नेछ ।
- दिल्ली एनसीआरमा बन्ने दोस्रो विमानस्थल । दिल्लीमा हुने हवाइ ट्राफिक कम गर्न सहायक हुने ।
- यमुना हाई–वे, पश्चिमी राजमार्ग, इस्टर्न पेरिफेरल हाई–वे, दिल्ली–मुम्बई हाई–वे जस्ता प्रमुख राजमार्ग विमानस्थलसँग जोडिनेछन् ।
- अत्याधुनिक एमआरओ सेवा हुनेछ ।
- डेडिकेटेट कार्गो टर्मिनलको क्षमता २० लाख मेट्रिक टन हुनेछ । त्यसलाई बढाएर ८० लाख पुर्याइनेछ ।
- काम सम्पन्न भएपछि यो एसियाकै ठूलो विमानस्थल हुनेछ ।