काठमाडौं । सेयर बजारमा बिहीबार गिरावट आएको छ । खरिद बिक्री रकम पनि बुधबारकाे दिनको तुलनामा घटेकाे छ । बिहीबार नेप्से सूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा अडिएको छ । ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मौद्रिक नीति समीक्षाको समय नजिकिँदै गर्दा लगानीकर्तामा केही शंका र दुविधा देखिएको अनुमान गरिएको छ । बजारमा विभिन्न हल्लाहरु चलेकाले पनि त्यसको केही प्रभाव बजारमा परेको हो । यता, प्राविधिक विश्लेषकहरुले भने बजारको नियमित करेक्सन भनिरहेका छन् ।
अब बजारको गति मौद्रिक नीति समीक्षाले नै निर्धारण गर्ने देखिएको छ । तरलता सहज र ब्याजदरमा स्थिरता कायम हुने नीति आउन सकेमा बजार सकारात्मक हुनेछ । केन्द्रीय बैंकले यसै साता मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ । सेयर बजारको आगामी भविष्य धेरै हदसम्म मौद्रिक नीति समीक्षामा आउने विषयले पनि निर्धारण हुन सक्ने देखिएको छ ।
यसअघि ३२ सय बिन्दुमाथिसम्म पुगेको बजारमा यही मौद्रिक नीतिकै कारण भारी गिरावट आएको थियो । बजार करिब २२ प्रतिशतसम्मले घट्यो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर कर्जा लिन पाउने सीमा अधिकतम १२ करोड रुपैयाँमा सीमित गरिदिएको थियो । त्यसमा पनि एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँमात्र लिन सकिने व्यवस्था गरियो । यसले सेयर बजारलाई नराम्रो प्रभाव पार्यो ।
सेयर बजारका लागि नीतिगत अस्थिरता सबैभन्दा ठूलो चुनौती बन्दै आएको छ । बारम्बार नीतिहरु परिवर्तन भइरहन्छन् । जसले गर्दा बजारले निश्चित गति समाउन नसकेको बिडम्बना रहेको छ । सेयर बजारका लगानीकर्ताको मनोबल पनि सकारात्मक र सबल हुन आवश्यक छ । सानातिना विषयमा आत्तिएर निर्णय लिने प्रवृत्ति पनि हावी हुने गरेको छ । लगानीकर्तामा सकारात्मक मनोविज्ञान वृद्धि हुन सकेमा बजारले नयाँ गति समाउन लामो समय लाग्दैन ।
अब विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा छ । सरकारको खर्च अब बढ्दै जानेछ । यसले पनि तरलता सहज बनाउन सहयोग पुग्नेछ । स्थानी निकायमा पनि पैसा जानेक्रम सुरु हुनेछ । यतिबेला बजार करेक्सन भइरहेकाले डिस्काउन्टमा सेयर खरिद गर्ने मौका मिलिरहेको छ । सर्वसाधारण लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश क्षमता मजबुत भएकै कम्पनीमा लगानी गर्नुपर्छ । यसो हुँदा अन्ततः बजारमा हुने जोखिमलाई न्यूनीकरण गर्न सजिलो हुन सक्छ ।