झापा । पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका–१, २, ३ र ४ का १ हजार ७ सय हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।
प्रदेश नं १ सरकारको ५० लाख रुपैयाँ र सङ्घीय सरकारको १० लाख रुपैयाँको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकारसमेतको सहभागितामा मर्मत सुरु गरिएको बताए ।
नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् । पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ । सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला र दुधे खोला छेउमा पहिराले क्षति पुर्याएको थियो ।
उनले जिल्लाका अन्य नहरको तुलनामा अत्यन्तै अप्ठ्यारो स्थानबाट पानी ल्याइएको हुँदा प्रत्येक वर्षको बाढी पहिरोले क्षति पु¥याउने गरेको बताए । उनले भने, “पानीको मुहान पहाडको फेदीमा छ, मुहानबाट उपभोक्ताको खेतबारीसम्म पानी ल्याउन भीरबाटै नहर खनिएको छ, अर्को विकल्प पनि छैन, यसको मर्मतमा मात्र बर्सेनि लाखौँ खर्च हुने गरेको छ ।” उनले अहिले फेरिएको नहरको माटो हटाउनसमेत समस्या भइरहेको बताए ।
अप्ठ्यारो स्थान र माटोसमेत फ्याँक्ने ठाउँको अभावमा दुःखले काम गरिरहेको उनले सुनाए । सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीको विशेष पहलमा नहरको मर्मत सुरु गरिएको हो ।
नेपाल सरकारले सो नहर स्थापनामा ४४ करोड रुपैयाँ लगानी गरेको थियो । निर्माणको पाँच वर्षमा मात्र लाखौँ रकम मर्मतमै खर्च भइरहेको छ । यसअघि मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन समितिका अध्यक्ष तिवारीले पहल गरेका थिए।
सिद्धिनहर बिग्रिएको र सिँचाइको वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्यमा परेका स्थानीय किसानले एक महिनाभित्रमा पानी पाउने उनको भनाइ छ । रासस