एजेन्सी । शताब्दी पुरानो इतिहास बोकेको हिन्दुजा परिवारको व्यावसायिक साम्राज्य पारिवारिक कलहका कारण अस्तव्यस्त बन्न पुगेको छ ।
हिन्दुजा परिवारका अविभावक तथा हिन्दुजा ग्रुपका सीईओ परमानन्द एसपी हिन्दुजा श्रीचन्द (८५) डिमेन्सियाका कारण निस्क्रिय अवस्थामा छन् । सक्रिय उमेरका उनका नाती करम हिन्दुजा, करमकी दिदी, आमा, आन्टी र हजुरआमाहरू १८ अर्ब डलरको ब्रिटिस इन्डियन ग्रुपको सम्पत्तिमाथि यति बेला लडाइँ गरिरहेका छन् ।
करम पक्षका सदस्यले उक्त ग्रुपको सम्पत्ति बाँडफाँटको माग राखेका छन् । यता श्रीचन्द परमानन्दका तीन दाजुभाइ; गोपीचन्द, प्रकाश र अशोकले हिन्दुजा ग्रुपलाई आफ्नै शताब्दीयौं पुरानो ‘सबै कुरा सबैको हो । केही कुरा पनि कसैको होइन’ भन्ने आदर्शलाई पछ्याइरहन चाहन्छन् ।
यो पारिवारिक कलह परिवारमा मात्र सिमित नरहेर लन्डन र स्विट्जरल्याण्डको अदालतसम्म पनि पुगिसकेको छ । हिन्दुजा परिवारभित्र देखिएको तिक्ततापूर्ण यो मनमुटावले १ सय ७ वर्ष पुरानो इतिहास बोकेको एवम् विश्वको एउटा ठूलो कंगलोमेरेटलाई अनिश्चितताको भूमरीमा धकेलेको छ ।
हिन्दुजाका दर्जनौं कम्पनी छन् । जसमध्ये ६ वटा पब्लिक ट्रेड कम्पनी भारतमा नै छन् । ३८ मुलुकमा फैलिएको हिन्दुजाको ट्रक निर्माण कम्पनी, बैंकिङ, रसायन, पावर, मिडिया र हेल्थकेयर बिजनेसमा डेढ लाखभन्दा धेरै मानिसले रोजगारी पाइरहेका छन् ।
इन्डियन स्कुल अफ बिजनेसका पारिवारिक व्यवसायविज्ञ कभिल रामाचन्द्रन यो कलह साम्य नहुने स्थितिमा पुगिसकेको बताउँछन् ।
उनी भन्छन्, ‘अब यो व्यापारले पहिलेको आदर्श ‘सबै चिज सबैका लागि हो’ भन्ने आफ्नो समाजवादोन्मुख आदर्शमा फर्किन सक्ने सम्भावना कमै देखिन्छ ।’
बलिउडदेखि बैंकसम्म
सन् १९१४ मा परमानन्द दिपचन्द हिन्दुजाले बेलायत उपनिवेशित भारतको सिन्ध क्षेत्रमा हिन्दुजा कम्पनी स्थापना गरेका थिए । सुरुमा वन टाइम कमोडिटिज ट्रेडिङका लागि चिनिएको उक्त कम्पनीलाई दिपचन्दका दाजुभाइले तीव्रताका साथ विविधीकरण गरेका थिए । बलिउड चलचित्रलाई भारतबाहिर व्यापार गर्न थालेपछि उनीहरूले प्रारम्भिक सफलता हात पारेका थिए ।
ग्रुपको इतिहासकै कारण अमेरिकी पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुस र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि ग्रुप–प्रमुख सम्बन्ध जोड्न सफल भएका थिए ।
कूल १५ अर्बको सामूहिक सम्पत्तिलाई परमाचन्दका चार दाजुभाइले सधंै एकीकृत मार्चा प्रस्तुत गरे । यसको मतलब हिन्दुजा परिवारमा सबै ठीकठाक थियो भन्ने होइन । तर, गत वर्ष बेलायतको एउटा फैसलाले परिवारभित्रको कहललाई थप प्रस्ट पारिदियो ।
गोपीचन्द, प्रकाश र अशोकले २०१४ मा हस्ताक्षर भएको चिठीको आधिकारिकतालाई बचाउ गर्ने प्रयास गरे । त्यसमा एक जनासँग भएको सम्पत्ति सबैको हुने लेखिएको थियो । तर, एसपीकी प्रतिनिधि छोरी बिनुले जेनेभामा रहेको हिन्दुजा बैंकमा आफ्नो एक्लो स्वामित्व भएको दाबी गरिन् ।
बेलायती अदालतले उक्त पत्रको कुनै वैधानिकता नहुने फैसला गरोस् भन्ने चाहान्थे एसपी । तर सो मुद्दामाथि हालसम्म कुनै निर्णय हुन सकेको छैन । एसपीको अपेक्षा पूरा भएको खण्डमा मृत्युपश्चात् उनको नामको सम्पत्ति आफ्ना छोरीहरू बिनु र सानुलाई जानेछ ।
यसैगरी बेलायती अदालतमा २०१८ देखि चलिरहेको अर्को मुद्दा–कलहले अन्य पारिवारिक सम्पत्तिलाई पनि प्रभाव पार्ने देखिन्छ । उक्त कलह १ अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको कम्पनीसँग सम्बन्धित छ । जसमा ग्रुपकै हाई–प्रोफाइल लिस्टेड कम्पनी तथा विश्वको तेस्रो ठूलो बस निर्माण कम्पनी अशोक लेल्यान्ड पनि समावेश छ ।