काठमाडौं । सरकारले दुई दर्जन स्थानमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । पछिल्लो समय सरकारले सुरुङमार्गलाई महत्व दिएर बजेट विनियोजन गर्न थालेपछि विभिन्न देशका स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढेको हो ।
जलविद्युत आयोजनाका लागि मात्र सुरुङ निर्माण हुने गरेकामा अब सडकको दूरी छोट्याउनसमेत सरकारले सुरुङमार्ग निर्माण गर्न थालेको हो । अहिले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण भइरहेको छ । यसबाहेक सरकारले देशका विभिन्न स्थानमा दुई दर्जन सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढाएको छ ।
अघिल्लो सरकारले जेठ १५ गतेको बजेटमा नेपाल सुरुङमार्गमा प्रवेश गरेको र चालू आर्थिक वर्षमा सुरुङमार्ग निर्माणका लागि विभिन्न चरणमा काम हुने उल्लेख गरेको थियो ।
हाल नेपालमा निर्माण सुरु भएदेखि अध्ययन र सम्भावनाको रूपमा रहेका सुरुङमार्गको संख्या २४ रहेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन् । त्यसमध्ये ६/७ वटा सुरुङमार्गको प्रस्ताव चालू आर्थिक वर्षमा थपिएको हो । उनका अनुसार, चालू आर्थिक वर्षमा धरान–लेउती र बीपीनगर–खटिया सुरुङको मात्रै प्रारम्भिक चरणको अध्ययन सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।
त्यस्तै चालू आर्थिक वर्षमा कुनै पनि सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नसकिने उनले बताए । अन्य केही सुरुङमार्गको भने प्रारम्भिक चरणको अध्ययन सुरु हुने प्रवक्ता नेपाल बताउँछन् ।
हालसम्म ६ वटा सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । जसमध्ये पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबास–बर्दघाट सुरुङमार्ग, पोखारा–बाग्लुङ सडकको हेम्जा–नयाँपुल सुरुङमार्ग, दोलखाको लामाबगर–लाम्चे सुरुङमार्ग, बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग, मकवानपुरको कुलेखानी–भिमफेदी सुरुङमार्ग र रसुवा सडक खण्डको टोखा–छहरे–गर्जुभञ्ज्याङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको हो । अन्य सुरुङमार्ग अध्ययनको क्रममा रहेका छन् ।
सरकारले सुरुङमार्गको क्षेत्रमा मात्रै १ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक विभागले जनाएको छ । साथै प्रतिस्थापन बजेटले पनि सुरुङमार्गका लागि बजेट बढाएको छ । सो बजेट नागढुङ्गा सुरुङमार्ग बाहेकका लागि रहेको विभागले जनाएको छ ।
‘सुरुङमार्ग निर्माण गर्न धेरै ठूलो लगानी लाग्ने, जमिनमुनिको भाग अध्ययनमा गर्नुपर्ने भएकाले प्रशस्त समय दिनुपर्ने हुन्छ’ क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘नाम आउँदैमा सुरुङमार्ग बनिने होइन । अध्ययन गरेर सम्भावना पत्ता लगाएपछि स्रोतले भ्यायो र ट्राफिकले माग गरेपछि मात्रै बन्ने हो । त्यसैले अध्ययन सुरु हुँदैमा अब बन्यो भन्नु हुँदैन ।’
हालसम्म उक्त सुरुङ २०७६ कात्तिकमा निर्माण कार्य प्रारम्भ भएको थियो । हालसम्म नागढुंगा–सिस्नेखोलाको भौतिक प्रगति २३ प्रतिशत भएको छ । आयोजनालाई अबको डेढ वर्षमा बाँकी काम सम्पन्न गर्नुपर्ने चुनौतीे छ ।
आकस्मिक प्रयोजनसहित ५ हजार ४९९ मिटर सुरुङ खन्नुपर्नेछ । सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।
चालू आर्थिक वर्षमा सरकारले नागढुंगा सुरुङका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने सो सुरुङमार्ग बनेपछि धादिङको सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं पुग्न सकिनेछ ।
त्यस्तै बीपी राजमार्गअन्तर्गत खुर्कोट–चियाबारी सुरुङमार्गको प्रारम्भिक अध्ययन सकिएर डीपीआरको प्रक्रिया अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को कन्सल्ट्यान्ट टोलीले सार्वजनिक गरेको पूर्व सम्भाव्यता अध्ययन (प्री फिजिबिलिटी स्टडी) ले खुर्कोट–चियाबारी सुरुङमार्ग बनाउन करिब ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
तर, यकिन लागत विवरण भने डीपीआर बनेपछि मात्रै तयार हुने सडक विभागले जनाएको छ । साथै जाईकाले हालसम्म खुर्कोट–तियाबारी सुरुङमार्ग निर्माण गर्ने जिम्मेवारी भने लिइसकेको छैन । यद्यपि विभागले भने जाईकालाई सुरुङ निर्माणकार्य सन् २०३० सम्म सम्पन्न गर्न अनुरोधसमेत गरिसकेको छ ।
त्यस्तै प्रारम्भिक अध्ययन सम्पन्न भएको टोखा–छहरे–गर्जुभञ्ज्याङ सुरुङमार्गको काम भने १ वर्षदेखि अघि बढ्न सकेको छैन । सुरुङको प्रारम्भिक अध्ययन चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरेको थियो । प्रारम्भिक चरणको अध्ययन गरेको चिनियाँ पक्षले पूर्व सम्भाव्यता अध्ययन गर्न गत वर्षको कात्तिकमा सडक विभागसँग लिखित सम्झौता गरेको विभागका महानिर्देशक अर्जनुजंग थापाले बताए ।
तर, चिनियाँ पक्ष कोरोनाको कारण देखाउँदै सम्पर्कमा हालसम्म आएको छैन । अन्य बाँकी सुरुङको काम प्रारम्भिक अध्ययनको अवस्थामा पनि नपुगेको प्रवक्ता नेपालको भनाइ छ ।
त्यस्तै आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्न बजेटको व्यवस्था गरेको बताइएको छ । सिद्धबाबामा सुरुङमार्ग बनाउन बोलपत्र पनि आव्हान भइसकेको छ ।
काठमाडौं–कोटेश्वर खण्डको सवारी चाप व्यवस्थित गर्न तीनकुने–जडिबुटी खण्डमा सुरुङ निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन भएको छ ।
पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाक्सिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआ तयार गरिने उल्लेख गरिएको छ ।
प्रमुख सहरबीचको यात्रा अवधि बढीमा दुई घण्टा हुने गरी समय र लागत घटाउनले योजना सरकारको छ । यस्तै भौगोलिक विकटताले लम्बिएको सडकको छोटो दूरी कायम राख्ने र यात्रा लागत घट्ने छ ।
नेपालमा सुरुङमार्गको इतिहास भने एक शताब्दीभन्दा पुरानो रहेको बताइएको छ । राणाकालमा नै मकवानपुरको चुरियामाईमा निर्माण भइसकेको थियो । उक्त सुरुङको लम्बाई ५ सय मिटर चौडाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको थियो ।