काठमाडौं । मनकामना केबलकार सञ्चालन २४ औं वर्षमा प्रवेश गरेको छ । २०५४ मंसिर ८ बाट सञ्चालनमा आएको मनकामना केबलकारले हालसम्ममा १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा दिइसकेको छ ।
सञ्चालनपश्चात् मनकामना र यस वरपरका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बनेका छन् । सबै क्षेत्रमा उल्लेखनीय विकास हुँदास्वदेशमा मात्र नभएर विदेशमा पनि मनकामनाको प्रचार–प्रसार उत्तिकै भएको छ ।
विश्वविख्यात अष्ट्रियाको डोपलमायर कम्पनीको प्रविधिबाट सञ्चालन हुँदै आइरहेको यस केबलकारले विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
२४ वर्षमा प्रवेश गरेसँगै पूर्वजडित प्रविधि पुरानो हुँदै गएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्स पाउन कठिन हुँदै गएको र पाए पनि मर्मतसम्भारमा अत्यधिक खर्च बढिरहेको हुँदा केबलकार प्रविधिलार्ई स्तरोन्नति गरिने भएको छ ।
हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा )डी–कनेक्ट) तीन चरणमा स्तरोन्नति गर्ने र आउँदो आर्थिक वर्षको भदौसम्ममा पूरा गर्ने लक्ष्य रहेको छ । चरणबद्ध रूपमा विस्तारको काम गर्न लागिएको हुँदा यो अवधिभर केबलकारको नियमित सेवा भने सुचारु नै रहनेछ ।
कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहनेछन् । यी सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार बन्नेछ ।
स्तरीय रिसोर्ट पनि सञ्चालनमा ल्याइँदै
यही आव फागुनदेखि मनकामनाको भातृ संस्था ‘रिसोर्ट्स बाई मनकामना केबलरकार प्रालि’ द्वारा मनकामनामा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ ।
रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी रहनेछ । कुल ४० कोठा क्षमताको उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुनेछ । अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
यसले मनकामना क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै सो क्षेत्रमा प्रत्यक्ष–परोक्ष सबैले प्रतिफल पाउने विश्वास कम्पनीको छ । केबलबार स्तरोन्नति र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।