काठमाडौं । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । आइतबार ११ अंकले घटेको सूचक सोमबार ७ अंकले बढे पनि मंगलबार भने ठूलो गिरावट आएको हो ।
कारोबार सुरु भएदेखि अधिकतम घट्ने र न्यूनतम बढ्ने प्रतिस्पर्धामा रुमालिएको बजार सूचक अन्तिम समयमा ३२.३१ अंकले घटेर २७३३.१२ बिन्दुमा बन्द भएको हो ।
सोमबार २७६५.४४ बिन्दुमा बन्द भएको सूचक मंगलबार प्रिओपनिङमा २७६५.६८ अंकमा चढेको थियो । तर, १० मिनेट भित्रै बजार सूचक २७४८ मा झर्यो । त्यसपछि सामान्य बढ्ने र घट्ने अघि बढेको सूचक १२ः४५ मा २७५५ मा रहेकोमा आधा घण्टाभित्रै २७३२ मा झर्यो । फेरि बजार सूचक सामान्य बढेर घट्दै २ः१५ तिर २७१९ झर्यो । त्यसपछि भने बजारले केही सुधारको आशा देखाउँदै अघि बढे पनि घटेरै कारोबार बन्द भयो ।
मंगलबारको कारोबार प्रवृत्ति, चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा परिवर्तन गरिने विषयहरुको अफवाह र वित्तीय बजारमा देखिएको तरलता संकटले बजार अझै घट्न सक्ने सम्भावना देखाएको छ । यद्यपि, जतिसुकै बेला मौद्रिक नीतिको समीक्षामा आउने परिवर्तनलाई हल्ला चलाएर बजार उठाउने कोशिस हुन सक्छ ।
अहिले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा प्रतिवित्तीय संस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रहेको एकल ग्राहक सेयर धितो कर्जालाई १० करोड र ३० करोड बनाउन लागेको भनेर विभिन्न सञ्चारमाध्यममार्फत हल्ला चलाइएको छ । त्यस्तै, कर्जा निक्षेप अनुपातलाई खुला बनाउन, सेयर धिताे मूल्यांकनकाे सीमा ७० प्रतिशतबाट ६५ मा झार्ने, र लगानीयोग्य रकम जुटाउन कर्जा निक्षेप अनुपात गणना विधिलाई सरलीकृत गर्न र सकेसम्म खारेज नै गर्न अर्थमन्त्रालयले निर्देशन दिएको भन्दै हल्ला चलाइएको छ । उता एकल ग्राहक सेयर धितो कर्जा सीमा संस्थागतका हकमा लागू नहुने पनि त्यत्तिकै बाहिर आइरहेको छ ।
अर्कोतिर ब्याजदर करिब-करिब अस्थिर रहेको र अब नबढ्ने भनिए पनि व्याजरलाई खुला छाड्नुपर्ने चौतर्फी दबाब सुरु भएका कारण कतै राष्ट्र बैंकले हात झिक्ने हो की भन्ने आंशका फैलिएको छ । यसले पनि बजार सूचक घटाउनलाई सहयोग गरिरहेको छ ।
यो साता नेपाल टेलिकमले ४० प्रतिशत बोनस सेयर दिन लागेको भनेर हल्ला चलाई सेयर मूल्य उचाल्ने कोसिस भइरहेको छ । नेपाल टेलिकमको सेयर मूल्यले अझै पनि नेप्से सूचकलाई छिटो र बढी प्रभावित बनाउँछ । टेलिकमको मूल्य बढिरहेका कारण नेप्से सूचक जुन तहमा घट्न खोजेको थियो, त्यो तहमा पुगेको छैन् ।
टेलिकमको सेयर मूल्य घट्न थालेको अवस्थामा बजार सूचक अझै ओरालो लाग्ने देखिन्छ । लगानीकर्ताले समग्र सूचक भन्दा पनि आफ्नो कम्पनीको ययार्थ विवरणका आधारमा लगानी गर्नु उचित हुन्छ ।
मंगलबार ४ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार ३ अर्ब ८८ करोड रुपैयाँ कारोबार भएको थियो । बजार सूचक घटे पनि मंगलबार १४ कम्पनीको सेयर मूल्य बढेको छ ।
मानुषी लघुवित्तको १० प्रतिशतले बढ्दै सर्किट लागेर कारोबार भएको छ भने दोस्रो सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा नेपाल टेलिकम छ । उसको २.५९ प्रतिशतले मूल्य बढेको छ । उता १७१ कम्पनीको मूल्य घटेको बजारमा सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको ५.८४ प्रतिशत घटेको छ ।
मंगलबार सबैभन्दा धेरै कारोबार पनि नेपाल टेलिकमकै भएको छ । टेलिकमको ४१ करोड ५७ लाख २४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोस
मौद्रिक नीति समीक्षाको अफवाहले सेयर बजार लाग्यो ओरालो, अझै घटाउने चाल