जिल्लाको बुडर–जोरायल सडकखण्डअन्तर्गत पर्ने रिठासम्मको सडक कालोपत्रे सुरुआत भएको छ । कोभिड–१९ का कारण कालोपत्रेको काममा ढिलाइ भएको थियो । अहिले सडक कालोपत्रेका लागि धमाधम काम सुरु भएको काम गर्ने जिम्मा पाएको कम्पनीले जनाएको छ ।
विसं २०७४ असार ४ मा उक्त सडक कालोपत्रे गर्ने जिम्मेवारी राजेन्द्र निर्माण सेवाले लिएको थियो । बुडरदेखि रिठासम्म १० किलोमिटर कालोपत्रे गर्न २१ करोड ३९ लाख २२ हजार ४४० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त सडकको ८० प्रतिशत काम सकिएको सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख अनिल भट्टले बताए ।
ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त सडकको म्याद विसं २०७६ असार मसान्त सम्झौता सकिएर पहिलोपटक म्याद थप गरिएको थियो । एक वर्ष म्याद थपेर पनि निर्माण कार्य सम्पन्न नभएपछि पूर्वाधार विकास कार्यालय डडेल्धुराले पुनः गत असारमा दोस्रोपटक म्याद थप गरी चालु आर्थिक वर्षको आगामी चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने आदेश दिएको थियो । उक्त सडक कालोपत्रे गर्ने क्रममा रहे पनि निर्माण कम्पनीको लापरबाहीले सडक गुणस्तरीय नभएको जोरायल गाउँपालिका–२ का स्थानीयवासी महेन्द्र थापाको भनाइ छ । ‘कालोपत्रे डीबीएसटी डिबिएसटी पहिलो फेजअन्तर्गत सब ग्रेड, सम्याउने ग्रेडिङ गर्ने, कम्प्याक्सन गर्ने नगरी दोस्रो फेज सब बेस गरेको पानी पिच गरिएको छ, उक्त सडक दीर्घायु हुँदैन’ थापा भन्छन् ।
कालोपत्रेका लागि तीनपटक गर्नुपर्ने प्रावधान भए पनि एकपटक मात्रै सब ग्रेड गरिएको र मेसिनरी वाल, नालीको डिजाइन अनुमानभन्दा गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ ।
यस्तै, जहाँ ढुङ्गा–गिट्टी पाइयो त्यही ठाउँमा वालहरु बनाइएको छ भने मेसिनरी वालमा १–४ को मसला हुनुपर्नेमा १–८ को मसला हालेको फिल्डमा देखिएको अर्का स्थानीयवासी रामबहादुर बिकले बताउँछन् । उनका अनुसार उक्त सडक कालोपत्रे निर्माण सम्पन्न नहुँदै भत्किएको छ । निर्माणका लागि गत असार मसान्तसम्म १४ करोड १३ लाख ९८ हजार ८०३ रुपैयाँ भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख भट्टले जानकारी दिए । कालोपत्रे गर्ने पेटी ठेकेदार रूपलाल पाण्डेका अनुसार कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको तर अब छिट्टै कालोपत्रेको काम अघि बढ्ने बताउँदै भने, ‘कोरोनाका कारण कालोपत्रेको काममा केही ढिलाइ भएको हो, अब चाँडै सुरु हुन्छ । सम्झौतामा भएअनुसार काम गरेका छौँ, निर्माण स्थलमा आएर जाँच गर्दा हुन्छ । रासस