काठमाडौं । सोमबार काठमाडौंबाट रुकुम उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज एक्कासि नेपालगन्ज एयरपोर्टमा अवतरण भयो । पाइलट पेम्बा शेर्पाले काठमाडौंबाट रुकुमका लागि जहाज उडाएका थिए ।
तर, तोकिएको गन्तव्यमा नपुगी जहाज अन्यत्रै अवतरण भयो । पाइलटको ड्युटी आवर सकिएपछि उनले रुकुम नलगी यात्रुलाई नेपालगन्ज एयरपोर्टमा अवतरण गराए । अहिले पाइलटले गम्भीर गल्ती गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
जहाज उडिरहेका बेला गन्तव्यमा नलगी अन्यत्रै यात्रुलाई ओरालेर अलपत्र पार्न पाइन्छ ? भन्ने प्रश्नसहित जनमानसबाट पाइलट शेर्पा र नेपाल एयरलाइन्स व्यवस्थापनको सर्वत्र विरोध भइरहेको छ ।
वास्तविकता के हो भने पाइलटको ड्युटी आवर सकिएपछि जहाज उडाउन प्रतिबन्ध लगाइएको छ । यदि पाइलटले जबर्जस्ती जहाज उडाए नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउन्डेड गर्ने पाइलटलाई कारबाही गरी लाइसेन्ससमेत खारेज गर्न सक्ने व्यवस्था छ । सोही कारण पाइलट शेर्पाले आफ्नो व्यावसायिक करियर जोगाउनका लागि गन्तव्यमै नपुगी नेपालगन्जमा एक्कासि अवतरण गराएका हुन् ।
क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठका अनुसार पाइलटले आफ्नो ड्युटी आवर सकिएपछि जहाज उडाउन नपाइने बताए । क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनी निश्चित समयावधि तोकेको छ । त्यो समयावधिभन्दा बढी पाइलटले जहाज उडाएमा एअरलाइन्स र पाइलट दुवैलाई नियामक निकायले कारबाही गर्छ ।
कानुनी व्यवधानका कारण शेर्पाले जहाज नउडाएको नेपाल एयरलाइन्स व्यवस्थापनले जनाएको छ ।
पाइलट शेर्पालाई स्पष्टीकरण सोधियो
रुकुम नपुगी नेपालगन्जमा जहाज अवतरण गराएका पाइलट शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ भने नेपाल वायु सेवा निगमले छानबिन समिति बनाएको छ । वास्तविकता अध्ययन गर्न छानबिन समिति बनाइएको बताइएको छ ।