काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो शाख निर्धारण (क्रेडिट रेटिङ) को काम अघि बढाएको छ । प्राधिकरणले शाख निर्धारणका लागि इक्रा नेपाल लिमिटेडलाई जिम्मा दिएको छ ।
रेटिङका लागि अहिले तथ्यांक संकलन तथा प्रशोधनको काम भइरहेको प्राधिकरण वित्त विश्लेषण विभाग प्रमुख जयराज भण्डारीले बताए । हाल प्राधिकरणको उत्पादन, प्रसारण, वितरण प्रणालीका साथै सहायक कम्पनीको पनि तथ्यांक संकलनको काम भइरहेको उनले सुनाए । तथ्यांकको काम सकिएपछि इक्राले क्रेडिट रेटिङको काम सुरु गर्ने छ ।
अघिल्लो सरकारले गत जेठ १५ गते ल्याएको चालु आर्थिक वर्षको बजेटमा विद्युत प्राधिकरणको शाख निर्धारण गर्ने उल्लेख छ । सरकारले ल्याएको योजनाअनुसार प्राधिकरणले आफ्नो शाख निर्धारणको प्रक्रिया सुरु गरेको हो । शाख निर्धारणको काम चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ । प्राधिकरणले आफ्नो शाख निर्धारण गरेर बाहिरबाट ऋण लिने क्षमता विस्तार गर्न लागेको छ ।
नयाँ आयोजना कार्यान्वयन गर्न प्राधिकरणले कर्पोरेट जमानीमा स्रोत परिचालनको क्षमता विकास गर्न शाख निर्धारण गर्न लागेको बताइएको हो । हाल प्राधिकरणलाई सरकारले ऋण दिइरहेको छ । पछिल्ला वर्षमा सरकारले दिने ऋणको अनुपात घटाउँदै लगेको छ ।
गत आर्थिक वर्षमा सरकारले विद्युत प्राधिकरणलाई १३ अर्ब रुपैयाँ ऋण दिएकोमा चालू वर्ष घटेर साढे ८ अर्ब रुपैयाँमा झरेको छ । सरकारले नै आफैं ऋण खोज्नका लागि दबाब दिएको छ । सरकारले विस्तारै ऋण दिन कम गरेर बाहिरबाट खोज्न प्राधिकरणलाई भनेको छ ।
प्राधिकरणलाई विभिन्न आयोजना कार्यान्वयनमा ल्याउन २२ अर्ब रुपैयाँभन्दा बढी ऋण आवश्यक छ । तर, सरकारले घटाउँदै लगेको छ । बाहिरबाट ऋण खोज्न पहिला प्राधिकरणको शाख निर्धारण हुनुपर्ने छ ।