काठमाडाैं । धेरैजसो बैंकले कात्तिक महिनामा ऋण लगानी बढाए । तर बैंकहरूको निक्षेप संकलन भने ३५ अर्ब ३० करोड रूपैयाँले घटेको छ । कात्तिक महिनामा बैंकको ऋण लगानी ३६ अर्ब रूपैयाँले बढ्दा ९ वटा वाणिज्य बैंक भने पछि परेका छन् ।
बैंकहरुमध्ये सबभन्दा बढी ऋण हिमालयन बैकले बढाएको छ । बैंकले ६ अर्ब ७ करोड रूपैयाँले बढाएर १ खर्ब ५१ अर्ब ८९ करोड रूपैयाँ पुर्याएको छ । यसपछि क्रमशः नेपाल बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको ऋण लगानी बढी छ । उनीहरूले ४ अर्बभन्दा बढीले ऋण बढाएका छन् ।
निक्षेप बढाउनेमा भने सीमित बैंक मात्र रहेका छन् । कात्तिकमा सबैभन्दा बढी हिमालयन बैंकले निक्षेप बढाएको छ भने एनआईसी एसियाको सबैभन्दा धेरै घटेको छ । दुवै बैंकले कात्तिकमा ब्याज बढाएका थिए । १९ वटा बैंकको निक्षेप घटेको छ । हिमालयन बैंकले १४ अर्ब ६० करोड रूपैयाँले निक्षेप बढाएको छ ।
बैंकको निक्षेप १ खर्ब ६५ अर्ब ५० करोड नाघेको छ । एनएमबी बैंकले ४ अर्ब ८७ करोड रूपैयाँले बढाएको छ । बैंकको निक्षेप १ खर्ब ८० अर्ब ५४ करोड नाघेको छ ।
एनएमबीपछि लक्ष्मी बैंकको ४ अर्ब ५७ अर्बले बढेर १ खर्ब २५ अर्ब २१ करोड रूपैयाँ पुगेको छ । एनआईसी एसियाको १३ अर्ब ८९ करोड रूपैयाँले निक्षेप घटेको छ । बैंकको निक्षेप ३ खर्ब नाघिसकेको थियो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब ३४ करोड रूपैयाँले घटेर २ खर्ब ३१ अर्ब ५५ करोडमा सीमित भएको छ । एक महिनामा बैंकहरूले ३६ अर्ब रूपैयाँ कर्जा विस्तार गरेका छन् ।
कात्तिकसम्म बैंकहरूले ४० खर्ब ३४ रूपैयाँ कर्जा लगानी गरेका छन् । असोज अन्तिमसम्म समग्र कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रूपैयाँ थियो । डलरमा हुने ऋण लगानी भने स्थिर देखिएको छ ।
कात्तिकमा बैंकहरूले डलरमा ऋण लगानी नगरेको देखिएको छ । असोजमा १५६ अर्ब रूपैयाँ ऋण लगानी गरेका बैंकहरूको कात्तिकमा पनि सोही रकमको ‘पोर्टफोलियो’छ ।
कात्तिकमा बैंकहरूको निक्षेप ३६ अर्ब बढेको छ । कात्तिकमा कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ । असोज अन्तिममा ४२ खर्ब ६९ अर्ब रूपैयाँ थियो । डलरमा निक्षेप २८ अर्ब रूपैयाँ घटेको छ ।