काठमाडौं । नेपाल राष्ट्र बैंकको मौखिक आदेशपछि बैंक तथा वित्तीय संस्थाले विदेश घुम्न जाने नेपालीलाई २ सय ५० डलर मात्रै दिन थालेका छन् ।
केन्द्रीय बैंकले गएको असोजमा बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई फोन गरी विदेश घुम्न जाने नेपालीलाई २ सय ५० डलरभन्दा बढी दिएमा कारबाही गर्ने चेतावनीसमेत दिएको एक बैंकरले बताए ।तर, केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा पासपोर्ट तथा भिसा सुविधाअन्तर्गत १५०० डलर दिने उल्लेख छ ।
‘राष्ट्र बैंकले १५०० डलर नै दिने सुविधा कायम राखेको छ । पूर्ववत् सुविधामा कुनै कटौती गरेको छैन’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, ‘सरकारले मन्त्रीस्तरीय निर्णयबाट २५० डलर मात्रै लैजाने व्यवस्था गरेकाले बैंक तथा वित्तीय संस्था आफैंले सुविधा घटाएका होलान् ।’
दसैंमा नेपालीहरु विदेश घुम्न जाँदा नेपालबाट धेरै डलर बाहिरिएपछि केन्द्रीय बैंकले नगद २ सय ५० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको हो । ‘अहिले कुनै पनि बैंकले २ सय ५० डलर भन्दा बढी नगद दिँदैनन्’ एक जना बैंकर सुनाउँछन् ।
राष्ट्र बैंकले नयाँ निर्देशन ल्याएको छैन । निर्देशनमा अहिले पनि १ हजार ५०० डलरको सुविधा कायमै छ । तर, बैंकहरुलाई दिएको निर्देशनमा २ सय ५० भन्दा बढी डलर नदिन भनिएको छ । बैंकको निर्देशनपछि बैंकहरुले असोजयता १ हजार ५०० डलर उपलब्ध गराउन सकेका छैनन् ।
आयात बढेर सरकारमाथि विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब पर्दै गएपछि केन्द्रीय बैंकले यस्तो नीति लिएको हो । रेमिट्यान्स प्रवाहमा कमी आउन थाले पनि विदेशी मुद्राको सञ्चितिमा पर्ने दबाबलाई कम गर्न केन्द्रीय बैंकले नयाँ उपाय लगाएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।
राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलका अनुसार मन्त्रीस्तरीय निर्णयबाट युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५०० अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्यान्डको हकमा न्यूनतम २ सय ५० डलर मात्र लैजान पाउने निर्णय गरेकाले बैंकहरुले त्यसलाई लागू गरेको हुन सक्ने बताए । केन्द्रीय बैंकले अध्यागमन कार्यविधि २०६४ संशोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।