एजेन्सी । भारतको ठूलो गाडी उत्पादक कम्पनी मारुती सुजुकी लिमिटेडले अब डिजेल सेग्मेन्टको मोटर उत्पादन बन्द गर्ने भएको छ । आउँदो सन् २०२३ मा कार्बन उत्सर्जन कानुनको नयाँ चरण सुरु भएपछि डिजेल सेग्मेन्टका सबै गाडीहरुको बिक्री थप घट्ने अनुमानका आधारमा कम्पनीले पेट्रोल गाडी उत्पादनमा आफूलाई केन्द्रित गर्न लागेको हो ।
भारतकै ठूलो कार निर्माणकर्ता कम्पनी मारुती सुजुकीका अनुसार कार्बन उत्सर्जनको नयाँ नियम लागू भएपछि डिजल गाडीहरुको मूल्य वृद्धि हुनेछ । कम्पनीले डिजेललाई छोडेर पेट्रोल सेग्मेन्टमा स्थानातरण हुने बताएको छ ।
‘अब हामी डिजेल स्पेसमा जाँदैनौं । हामीले यसअघि पनि यो कुराको संकेत दिइसकेका छौं कि हामी थप अध्ययन गर्नेछौं । यदि अझै उपभोक्ताले डिजेलको माग गरे हामी त्यसमा पनि फिर्ता आउन सक्ने छौं । तर, अहिलेका लागि हामी डिजेल सेग्मेन्ट उत्पादन अगाडि बढाउने छैनौं’ एमएसआईका प्रमुख प्राविधिक अधिकृत सीभी रामानले मिडियालाई भने ।
रामानले डिजेल पावर कार उत्पादन बन्द गर्नुको पछाडि सरकारको कार्बन उत्सर्जन रोक्ने कडा कानुन नै मुख्य कारण रहेको बताए । सन् २०२३ मा आउने उक्त नयाँ चरणको उत्सर्जन कानुनले गाडीको मूल्य वृद्धि गराउने कम्पनीले बताएको छ ।
अटो उद्योगको तथ्यांकअनुसार हाल डिजेल भेहिकलको हिस्सा समग्र प्यासेन्जर भेहिकलमा १७ प्रतिशत छ । २०१३ देखि २०१४ का बीच यो हिस्सा ६० प्रतिशत थियो । त्यसयता डिजल गाडीको उत्पादनमा भारी गिरावट आएको छ ।
यसअघि नै भारतकका धेरै अटो कम्पनीहरुले आफ्नो पोर्टफोलियोमा डिजेल सेग्मेन्टका गाडीहरुको निर्माण घटाइसकेको छ । अप्रिल १, २०२० मा लागू भएको बीएस सिक्स उत्सर्जन नियमपछि कम्पनीहरुले यस्तो परिवर्तन गर्न थालेका हुन् ।
२०२३ पछि यो नियम थप कडा हुने घोषणा भएसँगै एमएसआईले डिजेल मोडललाई बन्द गर्ने तयारी गरेको हो । भारतले २०७० सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता गरेको छ ।
भारतले सन् ३०३० देखि आफ्नो करिब आधा प्रतिशत ऊर्जाको आवश्यकतालाई गैर जीवाश्मा इन्धन अर्थात नवीकरणीय ऊर्जाबाट पूर्ति गर्ने लक्ष्य लिएको हो ।
मारुती सुजुकी गाडी नेपालमा अधिक रुचाइने गरेको छ । मूल्य सस्तो हुनुका साथै मर्मत सम्भार र पार्टस सहज रुपमा पाइने भएकाले नेपालमा मारुती सुजुकी गाडी धेरै बिक्री हुने गरेको छ ।
(दी इकोनोमिक टाइम्सको सहयोगमा)