काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबारसम्म उचालिएको बजार बिहीबार बजार घटेको हो । आइतबार सूचक ११.६० अंकले घटेर २७५७.५३ बिन्दूमा आइपुगेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यसै साता ल्याउँदै छ । खासगरी बजारमा देखिएको कर्जा अभाव र सेयर धितो कर्जामा लगाइएको सीमालाई कसरी सम्बोधन गर्न भनेर लगानीकर्ता हेरिरहेको देखिन्छ । अहिले बजार नीतिगत तवरबाट घटेको हो र नीतिगत तवरबाटै बजारलाई सुधार्नुपर्ने देखिन्छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत एउटा बैंकबाट ४ र समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्म मात्रै सेयर धितो कर्जा दिन सकिने व्यवस्था गरेपछि बजारमा त्यसको ठूलो असर परेको हो । त्यो प्रावधानलाई केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत उक्त प्रावधानलाई केही खुकुलो बनाउने संकेत देखिएको छ ।
आइतबार बजार घटाउने र बढाउनेबीच रस्साकस्सी देखिएको छ । खासगरी ब्रोकरहरु बजार घटाएर केन्द्रीय बैंकलाई दबाब दिन खोजिरहेका छन् भने केही लगानीकर्ता बजारबाट सेयर उठाउने मौका हो भन्दै सेयर उठाउन चाहेका छन् । तर, उनीहरु पनि सस्तोमा सेयर किन्न खोजेको देखिन्छ ।
आइतबार कारोबारमा भने ४ अर्ब ३५ करोडमा सीमित भएको छ । बिहीबार बजार घटे पनि कारोबार ६ अर्ब माथि उक्लिएको थियो । तर, आइतबार सूचकसँगै कारोबारमा पनि गिरावट आएको छ ।
लगानीकर्ताहरुले त्रैमासिक मौद्रिक समीक्षाबाट सेयर धितो कर्जामा खुकुलोपन, सहज तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रणका औजार खोजेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले कर्जा निक्षेप अनुपातलाई सहज बनाउने आश्वासन दिए पनि तत्कालै तरलता अभावको समस्या समाधान नहुने, राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा विस्तार १९ प्रतिशतमा सीमित राख्ने भने पनि अहिले नै ३३ प्रतिशतभन्दा माथि पुगिसकेकाले कर्जा संकुचनलाई प्राथमिकतामा राख्नुपर्ने । मुलुकमा देखिएको बाह्य क्षेत्र नियन्त्रण गर्न पनि कर्जा विस्तार रोक्नुपर्ने, अनुत्पादक क्षेत्रमा जाने कर्जा निरुत्साहित गर्दै उत्पादनशील कर्जा बढाउनुपर्ने बाध्यतासँगै ब्याजदर नियन्त्रणमा चालेको कदमका बाबजुत बैंकहरुले ब्याजदर बढाएका छन् ।
यसअघि नै लिएका कर्जामा जथाभावि प्रिमियम थपिएको, आधारदर बढेको भन्दै स्वाभाविक ब्याज बढाएको, यस अघि ऋण दिँदा दिइएको प्रिमियममा थप प्रिमियम लिएको र प्रिमियम दिन अटेर गर्ने ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको जस्ता कारणले बजार प्रभावित भएको छ ।
मौद्रिक नीति समीक्षामा सकारात्मक सन्देश प्रवाहित नभए बजार केही समय घट्ने सम्भावना रहन्छ । अर्कोतिर सूचीकृत कम्पनीहरुले लाभांश घोषणा र मूल्य समायोजनका कारणले पर्ने प्रभावले पनि बजार निरुत्साहित हुन्छ । त्यस्तै अहिले किनेको सेयर करिब एक वर्ष बिना प्रतिफल पाल्नुपर्ने अवस्थाले पनि लगानीकर्ता घट्ने समय आउँदै छ भन्ने मान्यता पालेर बस्दा बिक्री चाप बढ्न गई सेयर बजार प्रभावित बन्छ ।