काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड भएको छ । सञ्चालनमा आएको पहिलो वर्षमै तामाकोसीले नाफामा सबैलाई उछिनेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अपर तामाकोसीले ८६ करोड रुपैयाँ खुदनाफा गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अपर तामाकोसीले असारको तेस्रो सातादेखि बिजुली उत्पादन गरे पनि भदौ २५ गतेदेखि व्यावसायिक उत्पादन थालेको हो ।
अपरले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरी सो रकम नाफा गर्न सफल भएको हो । कम्पनीले देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालन गरिरहेको छ ।
बिजुली उत्पादन नभएपछि गत वर्षको यसैअवधिमा कम्पनी नोक्सानमा थियो । कम्पनीले भदौ २५ गतेदेखि ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली व्यावसायिक उत्पादन थालेको हो । साउन र भदौमा कम्पनीले आयोजनाबाट परीक्षण बिजुली उत्पादन थालेको थियो ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये २३ वटा नाफामा, ७ वटा घाटामा छन् नेपाल स्टक एक्स्चेजन्स (नेप्से) मा सूचीकृतमध्ये ८ वटा कम्पनीले विद्युत उत्पादन गर्न बाँकी रहेकाले नाफा देखिएको छैन ।
रसुवागढी हाइड्रोपावर, सान्जेन जलविद्युत, ग्रिनलाइफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमालय ऊर्जा विकास, हिमालयन पावर पार्टनर र साहस ऊर्जा लिमिटेड, लिवर्टी इनर्जी लिमिटेडका आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । नेप्सेमा ४३ वटा जलविुद्युत कम्पनी सूचीकृत भएका छन् ।
दोस्रोमा बढी कमाउनेमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । रिडीले पहिलो त्रैमासमा ४५ करोड ५५ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।
रिडीले बिजुली रैराङ हाइड्रोपावरको सेयर बेचेर ६० करोड रुपैयाँ आम्दानी गरेपछि उसको नाफा बढी देखिएको हो । उसको प्रतिसेयर आम्दानी बढेर ३११ रुपैयाँ पुगेको छ । यस्तै ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाको विकासकर्ता माउन्टेन इनर्जी नेपालले २९ करोड ३५ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।
यस्तै सानिमा माई हाइड्रोपावरले २४ करोड ३६ लाख र अरुण कावेली पावरले १३ करोड रुपैयाँ खुदनाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा २१ करोड रुपैयाँ रहेको छ ।
४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । कम्पनीले लगानीकर्तालाई भविष्यमा थप प्रतिफल दिन रोल्वालिङ डाइभर्सन र रोल्वालिङ खोला आयोजना निर्माण सुरु गर्न लागेको जनाएको छ ।कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले वार्षिक बिजुली बिक्रीबाट ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।
रोल्वालिङ बनेपछि बिजुली उत्पादन थप हुनेछ । आम्दानीसमेत बढ्ने छ । यसका लागि उचित ब्याजदरमा आवश्यक ऋण व्यवस्थापनमा चुनौती रहेको कम्पनीले जनाएको छ ।