कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत छन् । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बंगुर र माछापालन व्यवसायलाई अँगाल्दै आएका छन् ।
दिउँसोपख चौधरी विद्यालयमा काम गर्छन् । विद्यालयमा बिदा भएपछि र विद्यालय सञ्चलन हुनुअघि घरमै बंगुर र माछापालनको कार्यमा व्यस्त रहँदै आएका छन् । चौधरीको बंगुरफार्ममा ११ वटा बंगुर पालिएका छन् । १५ कठ्ठा जग्गामा रहेको दुई पोखरीमा माछापालन गरिएको छ । माछापालन र बंगुरपालनका लागि चौधरीले गाउँको सहकारी र समूहबाट गरी ६ लाख रुपैयाँ बढी कर्जा लिएका छन् ।
बंगुरफार्म निर्माण गर्न र बंगुरका पाठा खरिद गर्न मात्रै ५ लाख रुपैयाँ लगानी गरिएको चौधरीले बताए । “माछापालनको कार्य पाँच वर्ष अघिदेखि नै गर्दै आएका हौं”, चौधरीले भने, “बंगुरपालन गरेको एक वर्ष पुग्नै लागेको छ ।” वर्षमा माछा बिक्री गरेर ३ लाख रूपैयाँ जति आम्दानी हुने गरेको छ । १० महिनाको अवधिमा २ बङ्गुर बिक्री गरेर चौधरीले ४० हजार रुपैयाँ आम्दानी गरेका छन् ।
“बंगुरले पाठा दिन सुरु गरेपछि आम्दानी बढ्छ”, उनले भने, “एउटै पाठा ३ हजारदेखि ४ हजार रूपैयाँमा बिक्री हुन्छ । एउटै बंगुरले एकबेतमै ६ देखि १० वटासम्म पाठा जन्माउने गर्छ । फार्ममा पालिएका बंगुरमध्ये १० वटा पोथी छन् ।”
पोखरीमा पालिएका माछा गाउँमै ३५० रुपैयाँमा प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । बङ्गुरका पाठा खरिदका लागि टाढाका व्यापारी फोनमार्फत सम्पर्कमा रहेको चौधरी बताए । विद्यालयबाट महिनामा चौधरीले १० हजार रूपैयाँ जति तलब थाप्दै आएका छन् ।
विद्यालयबाहेकको समयमा काम गरेर त्योभन्दा बढी आम्दानी हुने गरेको छ । चौधरी विद्यालय गएको बेला उनीकी श्रीमती रुपा चौधरीले बङ्गुर र माछापालनको कार्यमा सहयोग गर्नुहुन्छ ।
“माछा बंगुरलाई चारो खुवाउनेलगायत कार्य मैले दिउँसोको समयमा गर्छु”, रुपाले भने, “त्यसपछिको काम श्रीमानले हेर्दै आएका छन् । विद्यालयकै मुख ताकेर बसेको भए अतिरिक्त आम्दानी हुँदैनथ्यो ।” चार जनाको परिवारको खर्च सहज रूपमा चलेको उनले बताए ।
श्रीमानले खोलेको बंगुरफार्म र माछापालनसँगै रुपाले घरमा रहेको १० कठ्ठा जग्गामा तरकारी खेतीसमेत गरेकी छन् । तरकारी खेतीको कमाइबाट आउने रकम चौधरी दम्पती सहकारी र बैंकमा बचत गर्दै आएका छन् ।
तरकारी खेतीबाट वर्षमा २ लाख जति आम्दानी हुने गरेको छ । बेलडाँडी गाउँका अन्य युवासमेत तरकारी खेती, बंगुर, कुखुरा र माछापालनको काममा संलग्न छन् ।
पहिला धेरै युवा रोजगारीका लागि निर्माण श्रमिकका रूपमा काम गर्न भारततर्फ जाने गरेका थिए । हाल गाउँमै व्यावसायिक काम गर्न थालेपछि भारततर्फ जाने युवाको सङ्ख्या पातलिँदै जान थालेको प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउद बताए ।
“गाउँमै युवाहरू काम गरी स्वरोजगार भएका छन्”, उनले भने, “युवाका हौसला बढाउनका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुपर्छ ।” युवा बङ्गुर, माछापालन र कुखुरापालनमा संलग्न छन् भने महिला व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर भएको उनको भनाइ छ ।रासस