काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुलाई सेयर बजारमा थप आकर्षित गर्न धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरु विदेशमै पुगेका छन् ।
ठूलो संख्यामा नेपालीहरु विदेशमा काम गर्न गएको र उनीहरु सेयर बजारमा प्रवेश गर्न इच्छुक भए पनि ज्ञानको अभावले आउन सकेका छैनन् । त्यही भएर ब्रोकरहरु अहिले दुबईमा काम गर्ने नेपालीलाई तालिमसमेत दिइरहेका छन् ।
अनलाइनमार्फत सेयर किन्न सक्ने अवस्था भएपछि थोरै मात्रामा नेपालीहरु विदेशबाटै सेयर किन्न थालेका छन् । तर, ठूलो संख्यामा विदेशमा काम गर्ने नेपालीलाई सेयर बजारमा ल्याउन सकिने र रेमिट्यान्स पनि औपचारिक माध्यमबाट भित्रिने देखिएपछि आफूहरु दुबईमा काम गर्ने नेपालीलाई सेयर बजारमा बारेमा तालिम दिन दुबई आएको दिपशिखा धितोपत्र कारोबार कम्पनीका कार्यकारी निर्देशक विष्णु ओझाले जानकारी दिए ।
विदेशमा काम गर्ने नेपालीलाई विदेशबाटै सेयर किन्न सिकाउने बित्तिकै एकातिर देशमा रेमिट्यान्स औपचारिक च्यानलमार्फत भित्रिन्छ भने अर्कोतिर रेमिट्यान्सको लिकेजसमेत बन्द हुने ओझा बताउँछन् ।
विदेशमा काम गर्ने धेरै नेपालीहरु सेयर बजारमा प्रवेश गर्न चाहिरहेका छन् । तर, उनीहरुसँग पर्याप्त ज्ञान र सीपको अभाव छ । त्यो अभावलाई हटाउन आफूहरु दुबई आएको ओझाले जानकारी दिए । दिपशिखाले अहिले दुबईमा हरेका नेपालीलाई जम्मा गरेर सेयर सम्बन्धी तालिम दिइरहेको छ ।
पछिल्लो समय रेमिट्यान्स लिकेज तीब्र रुपमा बढेको छ । रेमिट्यान्सको पैसा हुन्डीतिर प्रयोग हुन थालेको नेपाल राष्ट्र बैंकको बुझाइ छ । विदेशमा काम गर्न गएका व्यक्तिलाई सेयर बजारमा आकर्षित गर्न सकिए एकातिर वैधानिक तवरबाट रेमिट्यान्स पनि भित्रिने, सरकारले राजस्व पनि पाउने र सेयर बजार पनि विस्तार हुने ब्रोकरको बुझाइ छ ।
‘धेरे नेपालीहरु सेयर बजारमा प्रवेश गर्न इच्छुक छन्,’ ओझाले भने, ‘विदेशमा बस्ने कामदारको मागबमोजिम आफूहरु यहाँ आएर उनीहरुलाई तालिम दिइरहेका छौ ।’