काठमाडौं । बैङ्कहरुबाट संस्थापक क्रसहोल्डिङको विवरण आउन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ । व्यक्तिगत लगानीको विवरण सङ्कलन गर्नुपर्ने भएकाले बढी समय लाग्ने देखिएको हो ।
यसअघि बैङ्कहरुले संस्थागत लगानीको मात्रै विवरण पठाएको तथा व्यक्तिगत लगानीकर्ताका बारेमा विवरणमा प्रष्ट नखुलाएपछि सबै विवरण पेस गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्कहरुलाई पुनः अर्काे पत्र पठाएको थियो ।
राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘अझै एक साताभन्दा बढी लाग्ने देखिएको छ । व्यक्तिको नाममा कति लगानी छ भन्ने अझै खुलेन ।’ राष्ट्र बैङ्ककले साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैङ्कहरूको क्रसहोल्डिङको विवरण एक साताभित्र पठाउन बैङ्कहरूलाई निर्देशन दिएको थियो ।
क्रसहोल्डिङ भएका बैङ्कहरुलाई फोर्स मर्जर गराउन राष्ट्र बैङ्कले यस्तो विवरण माग गरेको हो । राष्ट्र बैङ्कले ०.५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ भएका बैङ्क तथा वित्तीय संस्थाका संस्थापकको लगानी विवरण मागेको थियो । बैङ्कहरूले बुझाएको विवरणमा एक व्यक्तिको लगानी २ देखि ५ ओटा बैङ्कमा रहेको देखिएको छ । त्यो पनि १ प्रतिशतभन्दा बढी स्वामित्व छ । बैङ्क तथा वित्तीय संस्थामा अधिकांश उद्योगी तथा व्यवसायीको सेयर लगानी छ ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको नामावलीसहित रोक्का रहेको सेयर विवरण र संस्थापकबाट लगानी भएको चुक्ता पुँजीको विवरण पनि एकैसाथ बुझाउनुपर्ने निर्देशन दिएको थियो । सबैभन्दा बढी क्रसहोल्डिङ कर्मचारी सञ्चय कोषको छ ।
सञ्चय कोषको एक दर्जन बैङ्कमा संस्थापक र सर्वसाधारण गरी झन्डै ७ अर्ब रुपैयाँ सेयर लगानी छ । संस्थागत लगानीकर्ताका साथै सरकारी संस्था भएकाले कोषलाई क्रसहोल्डिङ लागू नहुने प्रवक्ता निरौलाको भनाइ छ । उनले प्राकृतिक व्यक्तिमा मात्र लागू हुने बताए ।
मर्जरमा जान दबाव दिनका लागि केन्द्रीय बैङ्कले क्रसहोल्डिङ छानबिन गर्न लागेको हो । विवरण आएपछि केन्द्रीय बैङ्कले क्रसहोल्डिङको विषयमा निर्णय लिने निरौलाले सुनाए ।