काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न कम्पनीले मंसिर २३ गते साधारणसभा बोलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी
साढे ८२ करोड रुपैयाँ बराबरको साढे ८२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा जाने तयारी भएको छ ।
कम्पनीको सेयर प्रत्याभूतिकर्ता (अण्डरराइटर) नागरिक लगानी कोष हुने भएको छ । आईपीओ निष्कासन गर्ने विषयमा पिपुल्स र सानिमा क्यापिटल लिमिटेडबीच सम्झौता भइसकेको छ ।
कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन हुने यो सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो । ७० प्रतिशत बैंकको ऋण लगानी रहेको छ ।
यसैगरी कम्पनीले सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई गाभ्ने (मर्ज) गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै सुपर दोर्दीले पनि पिपुल्ससँग मर्जमा जान मंसिर २५ गते साधारणसभा बोलाएको छ ।
दुबैको साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा मर्ज हुनेछ । स्थानीयबासिन्दाबाट थप लगानी जुटाउन पिपुल्सले दोर्दी इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । कम्पनीले लम्जुङ जिल्लाबासीबाट २६ करोड रुपैयाँ लगानी जुटाएको छ ।
पिपुल्स हाइड्रोपावरले दोस्रो जलविद्युत आयोजना निर्माणको काम अघि बढाएको छ । कम्पनीले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
हिमचुली दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । कम्पनीले अहिले ५४ मेगावाट सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हिमचुली बनेपछि जडित क्षमता १११ मेगावाट पुग्नेछ ।