काठमाडौं । निजी तथा सार्वजनिक लगानी (पीपीपी) मोडेलमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको ८२ प्रतिशत काम सकिएको छ । विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा सो भौतिक प्रगति देखाएको हो ।
आयोजनाको बाँकी १८ प्रतिशत काम निर्धारित तालिकाअनुसार आउँदो असारमा सकिनुपर्ने हुन्छ । आयोजना २०७९ असारमा सक्ने नयाँ संशोधित तालिका तय गरिएको छ ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ । सो परिमाणको बिजुली बिक्रीबाट रसुवागढीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ ।
२०७२ वैशाखमा गएको विनासकारी भूकम्प, त्यसपछिको नाकावन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो र दोस्रो लहर र डलरको मूल्य बढेपछि काबुबाहिरको अवस्थाका कारण आयोजनाको लागत बढेर १६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । यो लागत रकम निर्माण अवधिको ब्याज बाहेकको हो । आयोजनाको लागत २ अर्ब ५३ करोड ११ लाख रुपैयाँ बढेको छ ।
नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको थियो ।
आयोजनाको लागत बढेपछि ऋण लगानीकर्ता सञ्चय कोषसँग १ अर्ब २० करोड रुपैयाँ थप लगानीका लागि पुरक ऋण सम्झौता भइसकेको छ । बाँकी १ अर्ब ३३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने रसुवागढीले जनाएको छ । २०७८ असारमा सकिने अनुमानका आधारमा यो लगात रकम थप हुने भएको हो ।
आयोजनाको समय पुनः एक वर्ष थप भएकाले लागत अझै बढ्ने देखिएको छ । लागत बढेपछि आयोजना महँगो बनेको छ । सञ्चय कोषले आयोजनासँग ९.७५ प्रतिशत ब्याज लिंदै आएको छ । प्रत्येक ३ महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।
२०७८ असारमा बिजुली उत्पादनको लक्ष्य तय भएको थियो । विभिन्न कारणहरुले गर्दा एक वर्ष ढिलाइ हुन गएको कम्पनीले जानकारी गराएको हो ।कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानमा भएको ढिलाइले गर्दा आयोजना निर्धारित समयमा सम्पन्न नहुने अवस्थामा पुगेको हो ।
इलेक्ट्रोमेकानिकल उपकरण जडान नहुँदा आयोजना प्रभावित भएको छ । इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आपूर्तिको जिम्मा पाएको भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडले जडान नगर्दा ढिलाइ हुन पुगेको गुनासो आयोजना पक्षको छ ।
सन २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ । प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्लूई) रहेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो । सरकारले पनि रसुवागढी चालू आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको सूचीमा राखेको छ ।
सुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसअनुसार नेपाल विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९, र रसुवा जिल्लाका स्थानीय तहको ०.३२ प्रतिशत लगानी रहेको छ । नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । आयोजना नेपाल चीन सीमा नजिक गोसाईकुण्ड गाउँपालिकामा पर्छ ।
यो पनि हेर्नुहोस
रसुवागढी आयोजना पनि बन्यो महंगो, लागत बढेर पुग्यो १६ अर्ब २१ करोड