काठमाडौं । कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको एयरलाइन्स व्यवसाय पूर्ण रुपमा लयमा फर्किएको छ । कोरोना विरुद्धको खोप अभियानलाई सरकारले तीब्रता दिएसँगै अहिले दैनिक ४ सय उडान हुन थालेपछि आकाशमा होल्ड हुने समय पछि बढ्न थालेको छ ।
एक अन्तर्राष्ट्रिय एयरलाइन्सका नेपाल प्रमुखका अनुसार अन्तर्राष्ट्रिय जहाज दुई घण्टासम्म आकाशमै होल्ड हुन थालेको बताए । ‘विदेशबाट आउने हरेक जहाज न्यूनतम १ घण्टादेखि २ घण्टासम्म होल्ड हुन थालेको छ,’ ती अधिकारीले भने, ‘नेपाल नागरिक उड्डयान प्राधिकरणले एयर ट्राफिक कन्ट्रोल (एटीसी)मा अनुभवी कर्मचारी नखटाउँदा समस्या भएको हो ।’ अनुभवी एटीसी राख्ने वित्तिकै अहिलेको समस्या धेरैहदसम्म न्यूनीकरण हुने ती अधिकारीको भनाइ छ ।
प्राधिकरणका अनुसार अहिले ३ सय वटा आन्तरिक उडान हुन थालेका छन् । ८० वटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दिनमा झण्डै ४ सय उडान हुन थाले पनि आधा घण्टा हाराहारी होल्ड हुन लागेको क्यानका अधिकारीहरु बताउँछन् ।
लामो समयपछि एयरलाइन्स व्यवसाय नर्मलतिर फर्किएको छ । विगतको तुलनामा होल्ड हुने समय केही लम्बिएकाले क्यानले राति तीन बजेसम्म उडान गर्ने तयारी समेत थालेको छ । अहिले राति १२ बजेसम्म मात्रै उडान हुन्छ । त्यसलाई ३ बजेसम्म पुर्याउने विषयमा क्यानमा छलफल समेत भइरहेको छ । यदि ३ बजेसम्म लैजान सकियो भने अहिले भइरहेको होल्ड कम हुने उनीहरुको दाबी छ ।
अहिले काठमाडौंका सबै होटलको अकुपेन्सी ८० प्रतिशत माथि छ । यसैबाट पनि देखिन्छ, नेपालमा हवाई उडान पुरानै गतिमा फर्किएको छ । अहिले पर्यटक आवागमन बढ्ने सिजन हो । यो बेला पर्यटक बढ्ने गर्छन् ।
बिहान र बेलुकाको समयमा भने समस्या छैन । तर, पिक समय बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकाको ८ बजेदेखि ११ बजेसम्म पर्ने गरेको विमानस्थल स्रोतले बताएको छ ।
विमानस्थलमा पार्किङ अभावकै कारण विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको हो । विशेषगरि पिक आवरमा पार्किङ ‘वे को अभावका कारण थप उडान स्लट उपलब्ध गराउन नसकिने भएपछि यसबाट स्वदेशी क्यारियरलाई पनि समस्या पर्ने भएको छ ।
अहिले भएकै उडानमा पनि ओभर लोड हुँदा नेपाली आकाशमा हुने एयर ट्राफिकले समस्या पर्ने गरेको विमानस्थल स्रोतको दाबी छ । नेपालमा कोरोना कहर कम हुँदै गएपछि पर्यटकको आवागमनमा वृद्धि भएको छ । यद्यपि, यूरोपमा पछिल्लो समय तेस्रो भेरियन्टको संक्रमण सुरु भएको भन्दै कतिपय मुलुकहरुले फेरि लकडाउन लगाउन सुरु गरेका छन् ।