काठमाडौं । तीन दिन लगातार बढेको सेयर बजार साताको अन्तिम दिन बिहीबार भने ठूलो अंकको गिरावट देखिएको छ । बुधबार २८०१ बिन्दूमा रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार कारोबार खुल्ने वित्तिकै बढेर २८१० सम्म चढेको थियो । तर, विभिन्न कालखण्डमा घट्ने र बढ्ने हिम श्रींखलाजस्ता चुचुरा र खोँच बनाउँदै बजारले घट्नेक्रम समात्यो ।
अन्तिम आधा घण्टामा सूचक निरन्तर ओरालो लागेर २७६१ सम्म झरेको बजार अन्तिम मिनेटमा बढेको संकेत गर्दै ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा रोकिएको छ । कारोबार प्रवृत्ति र नेप्से सूचकको ट्रेन्ड तथा लगानीकर्ताको मनोवल हेर्दा आइतबार पनि बजार केही खच्किन सक्छ ।
यद्यपि, सुरुवाती समयमा बजार केही बढ्ने सम्भावना भने छ । खासगरी, मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पर्खाइमा रहेका लगानीकर्ताहरुले विगतका सेयर बजारका अप्ठ्यारा निर्देशनहरु परिमार्जन नहुने आंशका पालेर बुधबार अन्तिम समयदेखि बिक्री चाप बढाएका छन् ।
लगानीकर्ताहरुले त्रैमासिक मौद्रिक समीक्षाबाट सेयर धितो कर्जामा खुकुलोपन, सहज तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रणका औजार खोजेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले कर्जा निक्षेप अनुपातलाई सहज बनाउने आश्वासन दिए पनि तत्कालै तरलता अभावको समस्या समाधान नहुने, राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा विस्तार १९ प्रतिशतमा सीमित राख्ने भने पनि अहिले नै ३३ प्रतिशतभन्दा माथि पुगिसकेकाले कर्जा संकुचनलाई प्राथमिकतामा राख्नुपर्ने, मुलुकमा देखिएको बाह्य क्षेत्र नियन्त्रण गर्न पनि कर्जा विस्तार रोक्नुपर्ने, अनुत्पादक क्षेत्रमा जाने कर्जा निरुत्साहित गर्दै उत्पादनशील कर्जा बढाउनुपर्ने बाध्यतासँगै ब्याजदर नियन्त्रणमा चालेको कदमका बाबजुत बैंकहरुले ब्याजदर बढाएको, यस अघि नै लिएका कर्जामा जथाभावि प्रिमियम थपिएको, आधारदर बढेको भन्दै स्वभाविक ब्याज बढाएको, यस अघि ऋण दिँदा दिइएको प्रिमियममा थप प्रिमियम लिएको र प्रिमियम दिन अटेर गर्ने ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको जस्ता कारणले बजार प्रभावित भएको छ ।
मौद्रिक नीति समीक्षामा सकारात्मक सन्देश प्रवाहित नभए बजार केही समय घट्ने सम्भावना रहन्छ । अर्कोतिर सूचीकत कम्पनीहरुले लाभांश घोषणा र मूल्य समायोजनका कारणले पर्ने प्रभावले पनि बजार निरुत्साहित हुन्छ । त्यस्तै अहिले किनेको सेयर करिब एक वर्ष बिना प्रतिफल पाल्नुपर्ने अवस्थाले पनि लगानीकर्ता घट्ने समय आउँदै छ भन्ने मान्यता पालेर बस्दा बिक्री चाप बढ्न गई सेयर बजार प्रभावित बन्छ ।
बिहीबार नेप्से घटेसँगै कारोबार रकममा पनि कटौति भएको छ । बुधबार ७ अर्ब ३७ करोडको सेयर किनबेच भएकोमा बिहीबार भने ६ अर्ब २७ करोडमा खम्चिएको छ । १६० कम्पनीको सेयर मूल्य घटेको बिहीबार सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत् कम्पनीको ५ प्रतिशतले घटेको छ ।
मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मूल्य भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । यसदिन २२ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ । उता चालू वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सूधारेर प्रकाशित गरेको नेपाल टेलिकमको सबैभन्दा धेरै ५७ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।