फुङ्लिङ । राष्ट्रिय गौरवको तमोर करिडोर निर्माण द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ ।
आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । उनले भने, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्षअघि नै खोल्ने काम भइसकेको छ ।
सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोलाको सुकेपानीसम्म करिडोर निर्माण गरिएको छ । भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए ।
सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म उक्त करिडोर २३० किलोमिटर लामो छ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ ।
“करिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ”, पौडेलले भने । धनकुटाको मूलघाटबाट तमोर करिडोर खन्न सुरु गरिएको हो । ओलाङचुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ ।
तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ । सो खण्डमा १० पुल निर्माणाधिन अवस्थामा छन् । सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ ।
तमोर कोरडोर निर्माण २०६५ सालमा थालिएको हो । सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर करिडोरलाई विकास गर्न लागिएको हो ।
सडक निर्माणमा हालसम्म ४० करोड २० लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्ने छ । रासस