काठमाडौं । लगानीयोग्य रकमको चरम अभाव हुँदै गएपछि बैंकहरुले ऋणीबाट त्यसको भरपूर फाइदा उठाउन थालेका छन् । बैंकसँग लगानीयोग्य रकमको अभाव छ । यस्तो बेला बैंकहरु नयाँ ऋण दिने भन्दा पनि दिएको ऋणमा प्रिमियम थप्न थालेका छन् ।
कतिपय ऋणीहरुले बीचमै ऋणको प्रिमियम थपेको भन्दै बैंकको विरोध गरेपछि त्यस्ता ऋणीहरुलाई बैंकले तत्काल ऋण चुक्ता गर्न दबाब दिन थालेका छन् । ‘कि ऋण चुक्ता गर्नुस्, होइन भने प्रिमियम थप्छौ, चुप लागेर बस्नुस् भन्दै उद्योगीलाई बैंकबाट तारन्तार फोन आउन थालेको छ ।
‘ऋणीले भन्ने बित्तिकै बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्ने तागत हुँदैन्,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘अर्बौ रुपैयाँ ऋण लिएका हुन्छौ, बैंकले भन्ने बित्तिकै कसरी ऋण तिर्न सकिन्छ ? । बैंकहरु ठूलो ऋणमा धमाधम प्रिमियम थपिरहेका छन् । हामी केही बोल्न सकेका छैनौ ।’
अहिले बैंकको खर्च बढेर आधारदर बढेको अवस्था छ । आधारदर बढ्दा ब्याज बढ्नु स्वभाविक हो । तर, यहाँ बैंकले प्रिमियम बढाइरहेका छन् । नयाँ लगानी गर्न नसक्ने अवस्था आएपछि बैंकहरुले नाफा कमाउन नयाँ चाल सुरु गरेको उद्योगीहरु बताउँछन् ।
केही दिनअघि सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रिमियम नबढाउन बैंकहरुलाई चेतावनी थिए । तर, केन्द्रीय बैंकका गभर्नर अधिकारीले भनेको समेत बैंकहरुले बेवास्ता गर्दै धमाधम प्रिमियम थपिरहेका छन् ।
प्रिमियम बढाउँदा बैंकको चोखो नाफा बढ्यो । त्यही भएर सबै बैंकहरु २ देखि ४ प्रतिशतसम्म प्रिमियम बढाइरहेका छन् । ऋणीले पटक पटक बैंकसँग बीचमै प्रिमियम नथप्न आग्रह गर्दा उनीहरु त्यसो भए ऋण चुक्ता गर्नुस्, भन्ने जवाफ दिन थालेको बताइरहेका छन् ।
ऋणीको अनुमति बिना प्रिमियम थप्न पाइँदैन् । अहिले बैंकहरुले ग्राहकलाई प्रिमियम बढाउनुर्र्यो भनेर फोन गर्ने भन्दा पनि यति प्रिमियम बढाइयो भनेर जानकारी दिनका लागि सम्पर्क गर्न थालेका छन् ।
बजारमा लगानीयोग्य रकम अभाव हुँदा बैंकहरु अनुचित किसिमको फाइदा लिइरहेको ऋणीहरु बताउँछन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकहरुले प्रिमियम थपेको गुनासो अहिलेसम्म ऋणीले नगरेको बताए । यदि कुनै बैंकले बीचमै प्रिमियम चलाए केन्द्रीय बैंकमा गुनासो दिने व्यवस्था भएको र त्यस्ता बैंकलाई कानुनी कारबाही गर्ने जानकारी दिए ।
बैंकसँग सधै नजिक बसेर काम गर्नुपर्ने भएकाले २ देखि ४ प्रतिशत प्रिमियम थप्दा पनि गुनासो गर्न नसकिएको ऋणीहरु बताउँछन् । बैंकले कुनै न कुनै तरिकाबाट अप्ठयारो पार्ने भएकाले गुनासो गर्न नसकिएको एक उद्योगीले बताए ।