काठमाडौं । नेपालकै पहिलो स्काई वाक भ्यू टावरको काम ७० प्रतिशत सकिएको छ । कोभिडका कारण केहि समय निर्माण प्रभावित भए पनि अहिले द्रुत गतिमा काम भइरहेको र नेपाली नयाँ वर्षमा उद्धघाटन गर्ने तयारी भएको छ । २ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सो टावर नेपालकै पहिलो हो ।
काठमाडौंको कमलादीमा निर्माण भइरहेको टावर १८ महिना भित्रमा सञ्चालनमा ल्याउने गरी २०७६ साल मंसिरमा शिल्यान्यास भएको थियो । सो टावरको ओपनिङ बैंशाख भित्रमा हुने गरी काम भइहेको विकासकर्ता वन्डरर्स नेपाल प्रालिका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।
अध्यक्ष पोखरेलका अनुसार टावरमा मनोरञ्जनका लागि नाइट क्लबहरु पनि सञ्चालन गरिनेछ । त्योसँगै १० वटा कोठा, मिटिङ हल हुने गरी तयारी गरिरहेको छ । त्यसको माथि १०० जना अट्ने रेष्टुराँ हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ । १३.२ रोपनी जग्गामा निर्माण भइरहेको सो टावर नेपाली भवन ढाँचाअनुसार झन्डै २८ तल्ला बराबरको उचाइ रहने ७८ मिटर अग्लो टावर हुने छ ।
टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सिधै ६८ मिटरमा माथि पुगेर रोकिनेछ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको हुन्छ । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सन कम्पनीले पाएको छ । स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।
टावरको ७५ मिटर उचाईमा सिसामाथि हिँड्न सकिने बताइएको छ । यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लाग्ने छ भने टावरमा जानेहरुको सुरक्षा जाँच हुने छ ।
टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मनोेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।
स्काई वाक टावरमा दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ । उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन ।
टावरमा फलामको काम सकिन लागेको र अव सिसा राख्ने काम भइरहेको छ । त्योसँगै टावरमा राख्ने रेष्टुराँहरुको पनि तयारी हुन थालेको जनाएको छ । टावरको प्राङ्गनमा व्यवसायीक सटरहरु पनि रहनेछ ।
पर्यटकका लागि केहि नयाँ स्वाद दिलाउने उद्धेश्यका साथ स्काई वाक टावर निर्माण गरिरहेको छ । पछिल्लो समय नेपालमा नयाँ नयाँ र साहसिक पर्यटकीय गन्तव्यहरु निर्माण हुने क्रमले तिब्रता पाएको छ ।