काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा लचकता अपनाउन सुझाव दिएको छ । संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा गएको बैंकरको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी तरलता व्यवस्थापन गर्न सीडी रेसियोमा लचकता अपनाउन सुझाएको हो ।
संघले मौद्रिक नीतिको पहिलो त्रैमाशिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गरी सीडी, तरलता अनुपात र अनिवार्य नगद (सीआरआर) मा केही लचकता अपनाउन सुझाएको छ ।
यसैगरी ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र तथा विधिमा पुनरावलोकन, निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन पनि सुझाएको छ । एसईमी बण्डलगायत परिवत्र्य डिबेञ्चर, पर्पसियल डिबेञ्चर जस्ता वित्तीय उपकरणहरु जारी गर्नका लागि व्यवस्था मिलाउन संघले केन्द्रीय बैंकको ध्यानकर्षण गराएको छ ।
पुनरर्कर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने संघले माग गरेको छ ।
बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्न पनि संघले सुझाएको छ ।
संघका नवनियुक्त अध्यक्ष उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिवृद्धिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।
गभर्नर अधिकारीले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पछिल्लो समयमा भएको उच्च कर्जा वृद्धितर्फ संकेत गर्दे गभर्नर अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गरे ।
नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन दिदैं अधिकारीले प्रथम त्रैमासिक समीक्षाका लागि पेश गरिएका सुझाबहरु उपर आन्तरिक छलफल गरी उचित सुझाबहरु कार्यन्वयन गरिने आश्वासन समेत दिए ।