काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार ३ दिन बढेको छ । सोमबार, मंगलबार र बुधबार बढेको बजारमा १३७ अंकसम्मको वृद्धि देखिएको छ । तर, बुधबार पछिल्लो समयमा नेप्से सुस्ताउँदा केही तल झरेको छ । यद्यपि मंगलबारको तुलनामा १६.९५ अंकले बढेर नेप्से २८०१.५२ अंकमा रोकिएको छ ।
बुधबार कारोबार सुरु हुने बित्तिकै बढ्न थालेको सूचक पहिलो ७ मिनेटमै २८२० सम्म चढेको थियो । तर, लगतै सूचक झरेर २८०९ मा आए पनि कारोबारको एक घण्टामा २८२५ सम्म पुग्यो । जुन पछिल्लो ३ दिनको उच्च विन्दु हो ।
त्यसपछि केही घट्ने र केही बढ्ने गरे पनि २ बजेपछि भने बजार सूचक निरन्तर तल झरेर बिहीबार पनि घट्ने संकेत देखाएको छ । खासगरी गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले छलफल गरी वित्तीय बजारमा देखिएको तरलता व्यवस्थापन, ब्याजदरमा स्थिरता र कर्जा लगानीको वातावरण बनाउने विषयमा छलफल भयो ।
लगत्तै आइतबार पनि गभर्नर र अर्थमन्त्रीले विभिन्न विषयमा छलफल गरे । त्यसको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखियो । यद्यपि त्यस दिन १.३८ अंकले बजार सूचक घटेको थियो । बैंकहरुले ब्याजदर बढाउने छन् भन्ने त्रासलाई केही मत्थर गर्दै केन्द्रीय बैंकले ब्याजदरको सीमा तोक्ने सूचना बाहिरिएपछि सोमबार बजार उकालो लाग्यो ।
सोमबार साँझ नेपाल राष्ट्र बैंकले बैंकहरुको उच्च ब्याजदरको औसतमा १० प्रतिशतले बढाउन पाउने व्यवस्था गरेपछि मंगलबार बजार उचालियो । यसबीचमा घाटामा रहेको माथिल्लो तामाकोसीले चालू वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गएको संकेत गर्यो । जसको असर मंगलबार र बुधबार सर्किट लागेर कारोबार भयो ।
त्यस्तै नेपाल टेलिकमले पनि विगतको भन्दा राम्रो नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर मूल्यमा दुवै दिन सर्किट लाग्यो । यद्यपि अन्तिम समयमा नेपाल टेलिकमको मूल्य सर्किटबाट तल झरेको छ । त्यस्तै नबिल बैंकसँग मर्जमा जाने हल्ला व्यापक भएपछि दुई दिनदेखि नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा पनि सर्किट लागेर कारोबार भएको छ ।
उता बोटलर्स नेपाल तराईले आफ्नो आम्दानीमा व्यापक सुधार गरेपछि ३ दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यद्यपि बुधबार उसको मूल्यमा साढे ७ प्रतिशतको गिरावट आएको छ । राष्ट्र बैंकको निर्देशनले आगामी दिनमा ब्याजदरमा स्थिरता देखिने संकेत गरेको छ ।
२७ मध्ये २४ वाणिज्य बैंकको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम भएबाट समान ब्याजदरको स्थितिमा आगामी दिनमा ब्याज बढ्ने संभावना कम छ । यद्यपि यो ब्याजदरले बैंकहरुको आधार ब्याजदरलाई केही बढाउने छ । माघपछि कर्जाको ब्याजदर केही बढ्ने संभावना छ ।
३ दिनमा केही कम्पनीहरुमा राम्रो उछाल आएकाले लगानीकर्ताहरु नाफा बुकको प्रक्रियामा पनि प्रवेश गर्दा बिहीबार बजार केही घट्न सक्छ ।
बुधबार १५ दिनपछि उच्च कारोबार देखिएको छ । बुधबार ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि कात्तिक १५ गते ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बीचमा सूचक घट्दा कारोबार रकम पनि खुम्चिने गरेको थियो । आइतबार ४ अर्ब ६ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।
बुधबार अपरसँगै पञ्चकन्या माई जलविद्युतको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट लागेको छ भने नेपाल बंगलादेश बैंकसहित मैलुङखोला, तेह्रथुम पावर र मानुश्री लघुवित्तको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
समग्रमा ९४ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । घट्ने कम्पनीको अग्रसूचीमा बोटलर्स नेपाल तराईसँगै महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.४१ प्रतिशतले घटेको छ । बुधबार सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड ६८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।