काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी –आरएचपीसी)को कुल नाफामा उच्च बृद्धि भएको छ । रिडीको आम्दानीमा भएको बृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा चामत्कारिक वृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा रिडीको सबै आम्दानीलाई वार्षिकीकरण गर्दा ईपीएस गुणात्मक वृद्धि भइ ३११ रुपैयाँ १५ पैसा पुगेको छ ।
रैराङ हाइड्रोपावर कम्पनीसँग एकीकरण अभियानमा लागेको रिडीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार रिडी खोला जलविद्युतको बिजुली बिक्रीबाट १ करोड ४० लाख १३ हजार, रिडीकै स्वामित्वमा रहेको बुटवल सोलार प्लान्टको विद्युत विक्रीबाट २ करोड २० लाख २ हजार र अन्य आम्दानी ६० करोड ८ लाख १२ हजार गरी ६३ करोड ६८ लाख २९ हजार खुद आम्दानी गरेको छ ।
रिडीले विद्युत बिक्रीलाई मात्र वार्षिकीकरण गर्दा प्रतिसेयर आम्दानी ८० रुपैयाँ २८ पैसा रहेको सार्वजनिक प्रथम त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । कम्पनीको नाफा बढेपछि प्रतिसेयर कितावी मूल्य (नेटवर्थ) १७७ रुपैयाँ ८१ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९० रुपैयाँ ७४ पैसा पुगेको छ ।
गत आर्थिक वर्षमा रिडीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा र पहिलो त्रैमाशमा ५ रुपैयाँ ६४ पैसा थियो । त्यस्तै गत वर्ष खुद सम्पत्तिको मूल्य ११२ रुपैयाँ रहेकोमा पहिलो त्रैमासिकमा १०६ रुपैयाँ थियो ।
रिडीले चालू वर्षको सुरुवातमै हालै मर्जमा जाने सम्झौता गरेको रैराङ हाइड्रोपावरमा गरेको लगानी बेचेर ठूलो रकम हात पारेको हो । यसले कम्पनीको आम्दानी ह्वात्तै बढाएर खुद नाफा बढेपछि प्रतिसेयर आम्दानीमा पनि उच्च बृद्धि भएको हो ।
चालू पहिलो त्रैमासमा रिडीले ४५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ७८ लाख ६२ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । रिडीको ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी छ । रिडी र रैराङबीच मर्जमा जानका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार रोक्का भईसकेको छ ।
रिडी हाइड्रोपावरले २.५ मेगावाट क्षमताको रिडीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । बुटवलमा ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजना निर्माणको काम अन्तिम चरणमा पुुर्याएको छ ।
उता, रैराङले धादिङमा ५०० किलोवाट क्षमताको रैराङ खोला साना जलविद्युत् आयोजना र पाँचथर जिल्लामा ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।