विराटनगर । विराटनगरकी अनुपमा बाँस्तोला २६ वर्षकी भइन् । यो अवधीमा निकै उतार चढाव भोगेर उनी एक सफल व्यवसायी भइसकेकी छिन् । व्यवसायी मात्र हैन उनी मिडियाकर्मी पनि हुन् । अहिले व्यवसायलाई नै मुख्य पेसा बनाएकी बाँस्तोलाको आफ्नै आइडिया स्टेज पनि छ ।
बाँस्तोलाको परिचय यतिमा मात्र सीमित छैन । सामाजिक कार्यमा पनि सक्रिय उनी उदयन नेपाकी अध्यक्ष हुन् । हामी युवा, युथ फर बल्ड, लियो क्लब अफ विराटनगर लगायतका संस्थामा आबद्ध छिन् । स्टेज कार्यक्रम गर्न निकै रुचाउने बाँस्तोला २०१८ मा मिस नेपालमा पनि सहभागी भएकी थिइन् । मिस नेपालमा उनी टप २५ बाट बाहिरिएकी थिइन् । उनी आरोहन गुरुकुल विराटनगरकी कलाकार पनि हुन् ।
२०७० मा रेडियोबाट जागिर सुरु गरेकी थिइन् उनले । विराटनगरको पूर्वेली एफएम र स्काई एफएममा समेत काम गरेकी उनले त्यतिखेर विद्यार्थीलाई ट्युसन पनि पढाउँथिन् ।
उनलाई अरूको मातहतमा बसेर काम गर्न मन लागेन । आफैं केही गर्ने सोच आयो । उनको त्यो सोचलाई सार्थकरूप दिन सहयोगी बने बैंकर दिपेश धिमाल । बैंकमा काम गर्ने धिमाल र बाँस्तोलाले संयुक्त लगानीमा २०७४ मा हाम्रो बुटिक सञ्चालनमा ल्याए ।
बाँस्तोलाको बुटिक सञ्चालन गर्ने सोच मिस नेपालमा सहभागी भएपछि आएको हो । ‘मिस नेपालमा सहभागी हुन गए, त्यहाँ बनाइएका ड्रेसअपहरु हेरे’, उनले भनिन्, ‘मैले पनि आफ्नै आइडिया स्टेजबाट धेरै कार्यक्रमहरु गरेको छु, कन्सर्टहरु गरेको छु, यस्तो अवस्थामा धेरै ड्रेसअफहरु चाहिन्छ, अरूले गरेका छन् म किन गर्न सक्दिन जस्तो लाग्यो र मैले बुटिक सञ्चालन गर्ने सोच बनाए ।’ २०७४ सालमा १२ लाख रुपैयाँको लगानीमा सुरु भएको बुटिकको लागत बढेर अहिले ४५ लाख रुपैयाँ पुगिसकेको छ ।
बाँस्तोलाका अनुसार सामान मात्र बाहिरबाट आउँछ, डिजाइनदेखि लिएर सबै कुरा बसटिकमा नै हुन्छ । ‘आवश्यक सामान हामी बाहिरबाट ल्याउँछौं’, उनले भनिन्, ‘त्यसपछि कस्तो डिजाइन बनाउने, कस्तो खालको बनाउने हामी आफैं बनाउँछाैं ।’
विशेष गरी विवाहका ड्रेस, पास्नीका ड्रेस, पाटीका ड्रेसलगायत विभिन्न कार्यक्रममा कलाकारहरुले लगाउने ड्रेस बनाउने गरेको उनले बताइन् । महिला, पुरुष दुवैका लागि हुने ड्रेस बुटिकमा पाइन्छ । विशेष गरी पारिवारिक ड्रेस बढी अडर आउने गरेको उनको भनाइ छ ।
सबै डिजाइन आफैं गर्ने भएकाले बजारका कुनै पनि डिजाइनसँग नमिल्ने भएका कारण ग्राहको रोजाइमा हाम्रो बुटिक पर्ने गरेको छ । आफ्नो बुटिक ८० प्रतिशत डिजाइन अरूसँग नमिल्ने उनको दाबी छ । बाँकी २० प्रतिशत मिल्न सक्ने बाँस्तोलाले बताइन् ।
बाँस्तोलाले बुटिकलाई ब्रान्डका रूपमा विस्तार गरेकी छिन् । गुणस्तरमा आफूले कुनै सम्झौता नगर्ने र ग्राहकले सोचेको भन्दा राम्रो ड्रेस आफूले बनाएर दिने गरेकाले ग्राहकको विश्वास जित्न सफल भएको उनको भनाइ छ ।
‘हाम्रो बुटिक मेड इन नेपाल’ ब्रान्डमा लागिसकेको उनले बताइन् । ‘हाम्रो कपडामा हामीले हाम्रो बुटिक मेड इन नेपाल टाँसिसकेका छौं’, उनले भनिन्, ‘आफ्नै ब्रान्डमा निकाल्ने प्रदेश १ मा हामी नै पहिलो हौं, अहिलेसम्म कसैले आफ्नो ब्रान्ड निकालेको थाहा छैन ।’
हाम्रो बुटिकमा बनेका ड्रेसहरु नेपालभरि जाने गरेको र भारत, माल्दिभ्स, दुबई, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा जाने गरेको उनले बताइन् । बढी बाहिरबाट अडर आउने गरेको उनले सुनाइन् ।
उनको ढाका कपडा उद्योग खोल्ने योजना पनि छ । पढाइका कारण यो योजना स्थगित राखेको उनले बताइन् । मिडियामा पनि काम गर्न रुचाउने उनले विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् । पछि पत्रकारितामा पनि स्नातक गरिन् ।
अब उनलाई पत्रकारितामा स्नातकोत्तर गर्नुछ भन्ने सोच पलाएको छ । पत्रकारिता पढ्नका लागि उनी अमेरिका जाने तयारीमा छिन् । उनलाई विद्यावारधी (पीएचडी) गरेर अगाडि डाक्टर लेखाउने चाहना छ ।
बाँस्तोलाई गाइनो डाक्टर बन्ने इच्छा थियो । तर, सामान्य परिवार भएका कारण आर्थिक अभावमा उनले पढ्न सकिनन् । परिवारको आर्थिक अवस्था बुझेकी उनलाई डाक्टर पढ्न नसक्ने भएपछि पब्लिक हेल्थ पढन मन थियो । तर परिवारले मानेनन् । जसको कारण उनले विज्ञान विषय रोजिन ।
सपना एकातिर काम अर्कोतिर भए पनि आफूले गरेको काममा निकै सन्तुष्ट रहेको उनले बताइन् । अब पत्रकारिता विषय नै पढ्ने चाहना रहेको सोही विषय पढ्नका लागि अमेरिका जान लागेको उनको भनाइ छ ।
अमेरिका गए पनि बुटिक अमेरिकामा पनि चलाउने बास्तोलाले बताइन् । ‘पढ्नका लागि गए पनि म आफ्नो व्यवसाय छाड्दिन’, उनले भनिन्, ‘म जहाँ पढ्न जान्छु त्यहाँ व्यवसाय पनि गर्छु, बुटिकको विस्तार गर्ने र आफ्नो ब्रान्ड सबैतिर चिनाउने उद्देश्य रहेको छ, त्यो गर्छु ।’
सुरुमा सञ्चालन गरेको दिन बिना अनुभव ७० हजारको कारोबार भएको बताउँदै उनले पहिलो दिनबाट नै अर्डर आएको बताइन् । बीचमा कारणवस घाटा भए पनि अहिले त्यो अवस्था नरहेको उनको भनाइ छ ।
बुटिकमा अहिले १६ जनाले कर्मचारी छन् । डिजाइनरहरु मुम्बईबाट ल्याइएको छ । बास्तोला पनि कर्मचारीकै रूपमा काम गर्छिन् । उनी सञ्चालक भए पनि कर्मचारी हुन् । त्यसकारण नयाँ–नयाँ आइडियाहरु आउने र काम पनि राम्रो हुने उनको अनुभव छ । ड्रेसहरु हिन्दु, मुस्लिमलगायतका सबै कल्चरका ड्रेसहरु निर्माण हुने भएकाले कर्मचारी पनि सबै समुदायबाट रहेको उनले बताइन् ।