एजेन्सी । भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको कम्पनी आकाशा एयर एकैपटक ७२ वटा बोइङ ७३७ म्याक्स खरिद गर्ने भएको छ । आकाशाले विमान किन्न अमेरिकाको बोइङ इंकसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार राकेशको कम्पनी आकाशाले विमान किन्न ९ अर्ब डलर खर्च गर्ने छ । राकेश भारतीय सेयर बजारका बादशाहका साथै एस क्यापिटलका प्रमुख पनि हुन् । भारतको नयाँ एयरलाइन कम्पनी अकाशा एयरमा राकेशको वहुमत सेयर रहेको छ । राकेशको भारतका ठूला कम्पनीमा सेयर लगानी रहेको छ ।
७३७ म्याक्स विमानले भारतमा सस्तो, विश्वासिलो सेवा सञ्चालनका लागि सहयोगको अपेक्षा गरेको गरेको आकाशा एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय दूबेले बताएका छन् ।आकाशा एयरले ७३७ म्याक्सको दुई भेरियन्ट ७३७ एट र उच्च क्षमताको ७३७ एट २०० विमान अर्डर गरेको हो ।
भारत विश्वको तिव्र विकसित एभिएसन बजारमध्ये एक हो । बोइङको २०२१ को ‘कमर्शियल मार्केट आउटलूक’ को प्रक्षेपण अनुसार भारतलाई आगामी २० वर्षमा दक्षिण एसियाका लागि २२ सय भन्दा धेरै विमानको आवश्यक छ । जसको मूल्य ३२० अर्ब डलरभन्दा धेरै पर्नेछ ।
आकाशाले धेरै विमान खरिदको आदेश दिएकाले कोरोनापछि भारतको वायुसेवा क्षेत्र विस्तारै लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीले भारतलगायत विश्वकै एभियसन उद्योगलाई संकटग्रस्त बनाएको छ ।
भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एयर इन्डिया सञ्चालन गर्न नसकेपछि व्यवसायिक प्रतिष्ठान टाटा ग्रुपलाई २ अर्ब ४० करोड डलरमा बिक्री गरिसकेको छ ।
भारतमा एयर इन्डियाका साथै जेट एयरवेज, स्पाइसजेट, इन्डिगोलगायत विमान कम्पनीहरु सञ्चालनमा रहेका छन् । बिजया माल्याको किङफिसर एयर बन्द भएको छ ।
(इकोनोमिक टाइम्सको सहयोगमा)