काठमाडौं । केन्द्रीय बैंकले ब्याजदरमाथि अंकुश लगाए पछि त्यसको सकारात्मक असर सेयर बजारमा परेको छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर लगानीयोग्य रकम सहज बनाउने बताएका थिए ।
त्यसपछिको आइतबार खुलेको सेयर बजारमा पहिरो जानबाट रोकिएको थियो । त्यसपछि पनि गभर्नर अधिकारी र शर्माबीच निरन्तर छलफल भइरहेको थियो । सोमबार पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६ अंकले बढेको थियो । मंगलबार पनि सेयर बजार सूचक ६९.२२ अंकले बढेर २७८४.५८ बिन्दूमा पुगेको छ ।
लगानीकर्ताको गुमेको मनोवल विस्तारै फर्किँदै गएको देखिन्छ । बैंकहरुलाई केन्द्रीय बैंकले ब्याजदर वृद्धिमा लगाम लगाएको, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमा हेरफेर गर्ने र बजारमा लगानीयोग्य रकमको अभाव हुन नदिने सरकारी प्रतिबद्धता पछि बजार लगातार दुई दिनदेखि हरियाली छ । आइतबार भने सामान्य अंकले घटेको थियो ।
अल्पकालीन तथा दीर्घकालीन दुवैथरीका लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै देखिन्छ । आइतबार बजार खुल्ने बित्तिकै बजार दोहोरो अंकले घटे पनि त्यसपछि विस्तारै सम्हालिने पहल गरेको हो । सोमबार २६ अंकको बढोत्तरी र मंगलबार ६० अंक माथिले सूचक बढेको छ ।
ब्याजदरमा केन्द्रीय बैंकको नियन्त्रण अनि तरलता सहज बनाउन अर्थमन्त्री र गभर्नरको भेटघाट लगायतका विषयले पनि सेयर बजारमा सकारात्मक प्रभाव पार्न सहयोग गरेको हो । नेप्से २७ सय विन्दुमाथि अडिएकाले अब फेरि उकालो यात्रा सुरु भएको मान्न सकिन्छ ।
करेक्सनका कारण बजारमा सेयर निकै सस्तो भएको छ । सस्तो मूल्यमा छानिरोजी किन्न पाइने भएकाले कम्पनीको फन्डामेन्टल अवस्था अध्ययन गरेर उनीहरुले बजारमा प्रवेश गर्न सक्नेछन् । यस्तै, लाभांशको सिजन चलेको बेलामा सेयर खरिद गर्दा पुँजीगत लाभका साथमा लाभांश समेत हात पार्ने अवस्था आएको छ ।
यसकारण आधारभूत पक्षहरु अध्ययन गर्नेका लागि पनि सेयर किन्ने उपयुक्त मौका साबित भएको छ । सेयर बजारका लगानीकर्ताहरुले आफ्नै हिसाबले रणनीति तय गर्न आवश्यक हुन्छ । कहिले किन्ने अनि कहिले बेच्ने, कुन सेयर कति मूल्यमा किनबेच गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हुने भएकाले यसमा स्वतन्त्रपूर्वक निर्णय लिन आवश्यक हुन्छ ।
अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ । कम्पनीहरुको लाभांश प्रस्ताव गर्नेक्रम पनि जारी छ । कतिपयले बुक क्लोज मिति तय गरी साधारण सभा पनि बोलाउन थालेका छन् । यस्तो बेला सेयर खरिद गर्नेलाई लाभांशका साथमा पुँजीगत लाभसमेत प्राप्त हुने सम्भावना रहन्छ ।
मंगलबार ५ अर्ब ५२ करोड रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । यो साताको तीन दिन क्रमश कारोबार बढेको छ । आइतबार ४ अर्ब ९ करोड रुपैयाँ कारोबार भएको थियो । सोमबार ४ अर्ब ७३ करोड र मंगलबार ५ अर्ब नाघेको हो । कारोबार रकम विस्तारै फर्किँदै गएको अवस्था छ । यसले पनि बजार अझै माथि जाने आँकलन गर्न सकिन्छ ।