काठमाडौं । पोलभाडा सम्झौताको अन्तिम दिनसम्म पनि सबै इन्टरनेट सेवा प्रदायकहरु सहमतिका लागि नआएको विद्युत प्राधिकरणले बताएको छ । केही सेवाप्रदायक सम्पर्कमा आए पनि विद्युत प्राधिकरणले भने अनुरुप कोही पनि सम्झौतामा नआएको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘केही आईएसपीहरु सम्पर्कमा आएका छन्, तर हामीले भने जसरी सम्झौता गर्ने कोही आएका छैनन्,’ सिलवालले भने, ‘अहिलेसम्म जो आए यति पैसा बुझिदेउ भनेर मात्र आए, हामीले खाली पैसा मात्र होइन हाम्रो के कति संरचना प्रयोग भएको छ त्यसको विवरण लिएर आउनु भनेको हो, त्यसरी कोही आएका छैनन् ।’
तर इन्टरनेट सेवा प्रदायक नेपाल आईएसपानका अध्यक्ष सुधिर पराजुलीले भने आफूहरुले देशभर विस्तार भएको आफ्नो नेटवर्क क्षेत्रको पोल संख्या गणना गरी प्राधिकरणमा बुझाएको बताएका छन् ।
प्राधिकरणले प्रादेशिक कार्यालयमा उक्त पोल विवरण पठाएपछि त्यहाँबाट भाडादर निर्धारण भएपछि तिर्ने तरखरमा रहेको उनीहरु बताउँछन् ।
प्राधिकरणसँग पनि कति आईएसपीहरुको संरचनामा नेटवर्क विस्तार भएको छ भनी यकिन तथ्यांक नै छैन । प्राधिकरणले प्रादेशिक कार्यालय र त्यहाँबाट वितरण कार्यलय पुगेपछि मात्र तथ्यांक निकाल्न सकिने सिलवाल बताउँछन् ।
अर्कोतर्फ नेपाल दूरसञ्चार प्राधिकरणले पनि सम्पूर्ण आईएसपीहरुलाई कार्तिक मसान्तसम्म विद्युत प्राधिकरणसँग सम्झौताका लागि जान पत्र पठाइसकेको पूर्वाधार महाशाखाका अधिकृत कैलाश कार्कीले क्यापिटल नेपाललाई बताए ।
यदि कार्तिक ३० गतेभित्र पनि सबै आईएसपीहरु सम्झौतामा नआए अघिल्लो महिना दुई तालुकदार मन्त्रालयस्तर गठित पोल भाडा विवाद समाधान समायोजन समितिमा जाने प्राधिकरणले बताएको छ ।