काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना सञ्चालनमा आएको ३ महिनामा ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । ३ महिनामा कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरी सो रकम नाफा गर्न सफल भएको हो ।
बिजुली उत्पादन नभएपछि गत वर्षको यसैअवधिमा कम्पनी नोक्सानमा थियो । कम्पनीले भदौ २५ गतेदेखि ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली व्यवसायिक उत्पादन थालेको हो । साउन र भदौमा कम्पनीले आयोजनाबाट परीक्षण बिजुली उत्पादन थालेको थियो ।
आयोजनाले असारको तेस्रो सातादेखि बिजुली को परीक्षण उत्पादन थालेको हो । कम्पनीको आयोजना सम्पन्न हुँदा दीर्घकालिन कर्जा ४१ अर्ब, ब्याज बढेर ३१ अर्ब ७६ करोड २८ लाख र अन्य दायित्व १ अर्ब ७२ करोड ११ लाख, अल्पकालिन ऋण ४ अर्ब र अन्य गरी कुल दायित्व ८९ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको अपरले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले वार्षिक बिजुली बिक्रीबाट ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।
आयोजना बनाउन सरकारबाट १३ अर्ब रुपैयाँ दीर्घकालिन ऋण, सेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानबाट १४ अर्ब रुपैयाँ दीर्घकालिन ऋण रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै विद्युत प्राधिकरणबाट प्राप्त भएको अल्पकालिन ऋण २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
विभिन्न कारणले आयोजना निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको, निर्माण अवधिको ब्याज, विदेशी मुद्रा सटही व्ययभार र निर्माणका क्रममा प्रशासनिक खर्चमा भएको बढोत्तरीले आयोजनाको लागत बढेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । सरकारले विद्युत प्राधिकरणमार्फत लगानी गरेको १४ अर्ब रुपैयाँको ब्याजदर घटाएर ६ प्रतिशत कायम गरेको र अन्य ऋण लगानीकर्तालाई ब्याजदर घटाउने अनुरोध गरेको कम्पनीले जनाएको छ ।
आयोजना सम्पन्न भए पनि निर्माण अवधिको ब्याज एकमुष्ठ साँवा निर्धारण गरी ऋणको भुक्तानी तालिका तय र आयोजनाको सम्पत्तिको पुँजीकरण गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
कम्पनीले लगानीकर्तालाई भविष्यमा थप प्रतिफल दिन रोल्वालिङ डाइभर्सन र रोल्वालिङ खोला आयोजना निर्माण सुरु गर्न लागेको जनाएको छ । रोल्वालिङ बनेपछि बिजुली उत्पादन थप हुनेछ । आम्दानीसमेत बढ्ने छ । यसका लागि उचित ब्याजदरमा आवश्यक ऋण व्यवस्थापनमा चुनौति रहेको कम्पनीले जनाएको छ ।