काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तथा गैरआवासीय नेपालीको लगानीमा सञ्चालित सानिमा माई हाइड्रोपावर लिमिटेडले नयाँ जलविद्युत आयोजना बनाउन आधा दर्जन सहायक कम्पनीमा अर्बौं रुपैयाँ लगानी गर्ने भएको छ ।
सानिमा माई आफैंले स्थापना गरेको आधा दर्जन कम्पनीहरूमा २ अर्ब २२ करोड ८९ लाख रुपैयाँ लगानी गर्ने भएको हो । सोमध्ये ८ करोड ६७ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी गरेको कम्पनीले जनाएको छ ।
सानिमा माईले स्वेतगंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडमा ४५ करोड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडमा ५३ करोड २२ लाख, माथिल्लो मैलुङखोला जलविद्युत हाइड्रोपावर लिमिटेडमा २३ करोड ७५ लाख, तमोर सानिमा इनर्जीमा ५० करोड, बाबरी कन्स्ट्रक्सनमा ८२ लाख ५० हजार र सानिमा जुम हाइड्रोपावरमा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । सानिमाले सहायक कम्पनीमार्फत जलविद्युत आयोजना बनाउन स्वपुँजी लगानी गर्ने योजना अघि सारेको हो ।
कम्पनीले २२ मेगावाटको माई र ७ मेगावाटको माइक्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । सानिमाले गत वर्ष गरेको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले २८ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । पुँजीगत रुपमा कम्पनी बलियो हुँदै गएको छ ।
२.५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत् आयोजना निर्माण गरेर सानिमा समूह जलविद्युतमा प्रवेश गरेको हो । सानिमा मिडल तमोर हाइड्रोपावरले ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
स्वेतगंगाले २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत् आयोजना, माथिल्लो मैलुङखोलाले १४.३ मेगावाटको मैलुङखोला जलविद्युत् आयोजना बनाइरहेको छ । एनआरएनहरू संलग्न सानिमा गु्रपसँगै एनआरएनहरूद्वारा प्रवद्र्धित नेप्सेको लगानी समूहमा सूचीकृत एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले मध्य तमोर, तल्लो लिखु खोला, माथिल्लो मैलुङखोला जलविद्युत्मा लगानी गरेको छ ।
त्यस्तै, सानिमा समूहले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्दैछ । सानिमा समूहले नै ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला बी निर्माण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ । यी आयोजनामा पनि सानिमा माईको सेयर स्वामित्व रहने बताइएको छ ।
सानिमा समूहले प्रवद्र्धित ३ कम्पनीमा स्वपुँजी लगाएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले हिमालयन पावर पार्टनर (एपीपीएल)को अग्रसरतामा अघि बढाइएको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् परियोजना पनि स्वपुँजी लगाएको छ । यो आयोजनाबाट बिजुली उत्पादनको क्रममा छ ।
एनआरएनले ४ वटा जलविद्युत् आयोजनामा लगानी गरेको र अन्य कम्पनीहरूमा गरिने लगानी र सम्भावित आयोजनाहरू अध्ययन भइरहेको उल्लेख गरेको छ । सानिमा ग्रुपले अहिले ११५ मेगावाटका ३ वटा आयोजना निर्माण गरिरहेको छ ।
ग्रुपले ७३ मेगावाटको मध्यतमोर, २८.१ मेगावाटको तल्लो लिखुखोला र १४.३ मेगावाटको मैलुङखोला आयोजना निर्माण गरिरहेको छ ।
आन्तरिक खपतका लागि यी आयोजना निर्माण सुरु भएको हो ।
सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । सानिमाले निर्माण गरिरहेको मध्यतमोर ताप्लेजुङ, लिखु रामेछाप र मैलुङखोला रसुवा जिल्लामा पर्छ । ग्रुपले निर्माण गर्ने आयोजनामा सर्वसाधारणको सेयर लगानी हुनेछ ।
२.५ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरेर जलविद्युतमा प्रवेश गरेको सानिमाले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटको सानिमा माई क्यासकेड गरी ३१.५ मेगावाटका ३ आयोजना सञ्चालन गरिरहेको छ । थप ३ वटा आयोजना बनेपछि आधादर्जन आयोजना भई जडित क्षमता १४५ मेगावाट पुग्ने छ ।
ग्रुपले जलविद्युतका साथै बैंक, बिमा र पर्यटन सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । ग्रुपले जलविद्युतका साथै सानिमा बैंक, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र अंकमा होटल सञ्चालन गरिरहेको छ ।