काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना हालसम्म २५ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । द्रुतमार्ग आयोजनाको समग्र वित्तीय प्रगति १४.५१ र भौतिक प्रगति १६.१० रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
आयोजना सक्न १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष ०७८/०७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा सो जानकारी गराइएको हो ।
रक्षामन्त्री डा. मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा रहेको आयोजना ढिलासुस्ती र अनियमितता नहुने स्पष्ट पारे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सडक पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताए ।
मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले राष्ट्रिय गौरवलगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमानयोग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताए ।
सो अवसरमा अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिले रक्षामन्त्रालय मातहत सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए ।
सो अवसरमा नेपाली सेना इन्जिनियरिङ महानिर्देशनालयका प्रमुख उपरथी शरदलाल श्रेष्ठले कर्णाली कोरिडरसहित विभिन्न सडक आयोजना र राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाका लागि समयमै बजेटको व्यवस्थापन गर्न आग्रह गरे।
समीक्षामा मन्त्रालयका सहसचिव डा बाबुराम अधिकारीले चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई विभिन्न निकायबाट प्राप्त स्रोतसमेत ६५ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बजेट प्राप्त भएकामा हालसम्मको वित्तीय प्रगति २७।६७ रहेको जानकारी दिए ।
समीक्षामा मन्त्रालयका तर्फबाट द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ भएको, रुख कटानको जटिलता कायमै रहेको, प्रतिरक्षा विश्वविद्यालय बहुवर्षीय आयोजनका रूपमा स्वीकृत नभएको, बेरुजु फछ्र्योटमा विशेष ध्यान दिन जरुरी रहेको तथा बहुवर्षीय योजनाअनुरूप बजेट सुनिश्चित हुनु पर्नेलगायतका विषयमा प्रस्तुती भएको थियो ।
मन्त्रालय मातहत दू्रतमार्ग, विभिन्न पाँच वटा सडक आयोजना, प्रतिरक्षा विश्वविद्यालय निर्माण, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण, ऐतिहासिक गढी किल्ला संरक्षण र विकास, बङ्करदेखि ब्यारेकलगायतका महत्वपूर्ण आयोजना र कार्यक्रम सञ्चालनमा छन् । रासस