काठमाडौं । लकडाउनका बेला चार्टर्ड उडानमा तोकिएको भन्दा बढी शुल्क लिने कतार र टर्किस एयरलाइन्सलाई कारबाही गर्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । विदेशी एयरलाइन्सले यात्रुहरुसँग महँगो शुल्क लिए पनि कारबाही गर्न मिल्ने कुनै संयन्त्र नभएका कारण एक्सन लिन नसकिएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले क्यापिटल नेपाललाई बताए ।
आन्तरिक उडानमा भाडादर तय गरिएको हुन्छ, पर्यटन मन्त्रालय, प्राधिकरण र वायुसेवा सञ्चालक संघका पदाधिकारीहरुसहितको समितिले एयरलाइन्सहरुलाई भाडाको लिमिट तोकिएको हुन्छ । जसले उनिहरुले तोकिएको भन्दा बढी र घटि लिन पाउदैनन् । तर, अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्सहरुले बढी भाडा तोकेको भए पनि कारवाही गर्न नमिल्ने चेतावनी भने दिन मिल्ने क्षेत्रीले बताए ।
माग धेरै तर आपूर्ति कम नभएको बेला भाडा बढ्नु स्वभाविक भए पनि आफुअघिको महानिर्देशकको पालामा छानविन भएकाले यसमा अहिले आफुले बुझ्दै गरेको क्षेत्रीले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय एयरलाइन्सले बढि भाडा लिएमा सिधैं कारबाही गर्न मिल्ने व्यवस्था हामीकहाँ छैन,’ उनले भने । विदेशी एयरलाइन्सलाई कारबाही गर्न नमिल्ने भएपछि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि उन्मुक्ती पाएका छन् ।
चार्टर्ड उडानको नाममा यात्रुहरुलाई मंहगो शुल्क लिएको भन्दै निवर्तमान पर्यटनमन्त्री उमाशंकर अरगरियाकै निर्देशनमा छानबिन समिति बनेको थियो । पर्यटन मन्त्रालयले क्यानका तत्कालिन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गठन भएको छानविन समितिले महंगो शुल्क लिएको पाइएको प्रतिवेदन पर्यटन मन्त्रालयलाई बुझाएको थियो । तर,मन्त्रालयले हालसम्म सो प्रतिवेदन सार्वजनिक गरेको छैन ।
चार्टर्ड उडान प्रकरण प्रतिवेदन : चार संस्थालाई कार्वाहीको सिफारिस, यी हुन कम्पनी
हुन त यी एयरलाइन्सले गत वर्षको लकडाउनको बेला पनि चार्टर्ड उडानको क्रममा महंगो शुल्क लिएको प्रतिवेदन मन्त्रालयमा पेश भएको थियो । मन्त्रालयले तत्कालिन सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानविन समिति बनाएर प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक गरेका छैनन् ।
मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डेले प्रतिवेदन आएको भए पनि सार्वजनिक गर्ने विषयमा छलफल नभएको बताए । ‘म भर्खरै मन्त्रालयमा आएर जिम्मेवारी लिएको छु, प्रवक्ता पाण्डेले भने, कारबाहीको विषयमा के भएको छ जानकारी पाएको छैन’ ।