काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरूले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरूको लाभ लिन सक्छन् ।
ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा उक्त सहयात्री सिममा पाउन सकिनेछ ।
एनसेल आजियाटा लिमिटेड र ग्लोबल आईएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरू, उनीहरूका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता हो । सो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरूको फाइदा लिन सक्छन् ।
यस सम्झौताअनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्छन् ।
यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समयसीमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको १ सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्छन् । प्राप्त सेवा, सुविधाहरू ७ दिनका लागि मान्य रहनेछ ।
यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडीमुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।
सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरूमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरूको फाइदा पनि लिन सक्नेछन् ।
१८ वर्ष वा सोभन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरू यो योजनाका लागि योग्य रहेको बैंकले बताएको छ । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् ।
यो योजानाअन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षका लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरूको लाभ पनि लिन सक्छन् ।