काठमाडौं । एनएमबी बैंकले भिडियो कल गरेर बैंक खाता खोल्न सकिने एआईमा आधारित भिडियो केवाइसी सेवा औपचारिक रूपमा सुरु गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकले नेपालमै पहिलो पटक ५ मिनेटमै खाता खोल्न सकिने डिजिटल माध्यको सुरुवात गरेको हो ।
भीकेवाईसी सेवा सुरु गरेसँगै एनएमबी बैंकमा नेपाल तथा विदेश जहाँबाट पनि भिडियो कल गरेर खाता खोल्न सकिने बताइएको छ । केही महिना अघिबाट अनौपचारिक रूपमा सञ्चालन गर्दै आएको सो सेवामार्फत आइतबार बिहानसम्म ७ सय १९ जनाले खाता खोलिसकेका छन् । यसरी खाता खोलेपछि ग्राहकले भौतिक रूपमा बैंकमा उपस्थित हुनु नपर्ने बताइएको छ ।
साथै मेरो सेयर र डिम्याट खाता पनि भिडियो कलबाटै खोल्ने प्रक्रियामा रहेको एनएमबीले जनाएको छ । भीसीसी डट एनएमबी डटकमडट एनपीमा गई ग्राहकले भीवाईसी सेवा लिन सन्छन् । यसरी खाता खोल्नका लागि ग्राहकले आधिकारिक कागजपत्र देखाउनुका साथै हस्ताक्षरसमेत गरेर देखाउनुपर्ने हुन्छ ।
त्यस्तै बैंकले अभिनेता पल साहलाई १ वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । कार्यक्रममा बोल्दै अभिनेता साहले भने, ‘मलाई समाज सेवा गर्न मन पर्छ र एनएमबी बैंकले पनि समाजसेवाको क्षेत्रमा काम गर्दै आएकाले ब्रान्ड एम्बेसडरको जिम्मेवारी लिएको हुँ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले पल साहको अभिनयसँगै सामाजिक कार्यको कारण ब्रान्ड एम्बेसडर नियुक्त गरेको बताए । साथै पछिल्लो समय बैंकहरूसँग लगानीयाेग्य रकम अभाव गर्नेतर्फ एनएमबी बैंकलगायत सिंगो बैंकिङ क्षेत्र लागि रहेको केसीले बताए ।
उनले भने, ‘अरू पनि धेरै उपायहरू हुन सक्छन् तर, हामीले देशभित्रै बसेर कसरी समाधान गर्न सकिन्छ ? सरकारको खर्च कम भयो वा रेमिट्यान्स कम आएको छ यी कुराहरूलाई ख्याल गरेका छौं ।’