काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्थिरजस्तै देखिएको छ । गत बिहीबार २६९० मा रोकिएको सेयर सूचक आइतबार बजार खुल्दा सामान्य बढेको थियो । तर, लगत्तै घट्न थालेको सूचकले २६६८ सम्म झरेको थियो । त्यसपछि सिधै बढेर २६९४ अंकसम्म चढेको बजार फेरि घट्दै २६७३ सम्म आयो । त्यसपछि सामान्य उतारचढाव पछि मध्यसमय पछि २७०४ अंकसम्म उक्लिएको सूचक बजार बन्द हुँदा १.३८ अंकले घटेर २६८८.९२ बिन्दूमा रोकिएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छलफलको सकारात्मक प्रभाव आइतबारको बजारमा देखिने आँकलन गरिए पनि त्यस्तो भने रहेन । बढ्ने कोसिस गर्दा गर्दै पनि बजार सूचक सामान्य अंकले घट्न पुग्यो । खासगरी तरलता व्यवस्थापनमा अर्थ मन्त्रालयले चाल्ने कदम, केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत चालिनुपर्ने कदम र ब्याजदर वृद्धिका विषयमा केन्द्रीय छलफलले यर्थाथपरक निकास नदिए पछि त्यसको असर सेयर बजारमा परेको हो । खासगरी, मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर बढाउने र त्यसले नकारात्मक असर गर्न सक्ने बुझाइमा लगानीकर्ता छन् ।
आइतबार पनि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल भएको छ । तरलता व्यवस्थापनमा प्रदेश र स्थानीय तहमा जाने सबै रकम बैंकमा राख्ने र त्यसलाई कर्जा निक्षेप अनुपातमा गणना गरी तरलता व्यवस्थापनलाई सहज बनाउने बारेमा अर्थ मन्त्रालय सकारात्मक देखिँदा पनि सेयर बजार केही सम्हालिएको छ । गत साता २८७८ सम्म चढेको बजार त्यसपछि निरन्तर घटिरहेको छ ।
लगानीकर्ताहरु मंसिरमा निक्षेपको ब्याजदर बढ्छ कि बढ्दैन भनेर पर्ख र हेरको अवस्थामा छन् । मंसिरमा पनि ब्याजदर बढ्यो भने समग्रमा कर्जाको ब्याजदर पनि बढ्ने स्थिति आउँछ । यसले सेयर बजारलाई थप आहत बनाउँछ ।
सामान्यतयः ब्याजदर बढ्दा सेयर बजार ओरालो लाग्छ । यद्यपि, ब्याजदर बढेर हुने फाइदाभन्दा मूल्य अभिवृद्धिबाट आउने फाइदा लगानीकर्ताले बढी लिन्छन् । त्यो स्थितिमा ब्याजदरले सेयर बजारमा खासै चाप पार्दैन् । तर, हामीकहाँ सेयर बजारमा ब्याजदर बढेकोले असर गर्यो भन्ने हल्ला बढी छ । अहिलेको मुख्य समस्या ब्याजदरभन्दा पनि तरलता अभाव हो ।
सेयर लगानीकर्ताहरुले पनि प्राप्त गर्नुपर्ने हिस्सा बराबरको सेयर धितोमा ऋण नपाउने अवस्थाले बजार प्रभावित भइरहेको छ । एकातिर ठूला लगानीकर्ताका लागि सीमा तोकिएको छ भने अर्कोतिर साना लगानीकर्ताले तरलता अभावमा ऋण पाउने अवस्था छैन । उसले सबै प्रकृत्तिका लगानीकर्ता प्रभावित बनेका छन् । अर्कोतिर ब्रोकरहरुले उधारो कारोबार बन्द गरेका कारण बजार थप प्रभावित भएको छ ।
ब्रोकरहरुलाई राष्ट्र बैंकले ओभर ड्राफ्ट सुविधा नदिने संकेत गरेपछि ब्रोकरहरुले सेयर खरिद गर्न दिएको उधारो सीमा (धितो) बन्द गरेका छन् । यसको प्रभाव पनि निरन्तर सेयर बजारमा देखिँदै आएको छ ।
आइतबार ४ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उता आइतबार बोटलर्स नेपाल तराइले सकारात्मक सर्किट लगाएर कारोबार गरेको छ भने मानुषी लघुवित्त, तेह्रथुप पावर र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, एचआइडीसीएलको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने साहास उर्जाको मूल्य ८.७४ प्रतिशतले घटेको छ ।