काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासामू मंसिर पहिलो हप्ता आउने मौद्रिक नीतिको समीक्षाबारे ब्रिफिङ गरेका छन् ।
गभर्नर अधिकारीले मंसिर पहिलो हप्ता आउने मौद्रिक नीतिको समीक्षा, देशको वर्तमान आर्थिक अवस्था, अहिले बजारमा देखिएको तरलता अभावका बारेमा अर्थमन्त्री सामू ब्रिफिङ गरेका हुन् ।
गभर्नर अधिकारीले अर्थमन्त्रीसामू मौद्रिक नीतिको समीक्षाका बारेमा जानकारी गराएको बताए । क्यापिटल नेपालसँग कुराकानी गर्दै अधिकारीले भने, ‘देशमो वर्तमान आर्थिक अवस्थाको बारेमा समेत ब्रिफिङ गरेको हुँ ।’
सो छलफलमा अर्थसचिव मधुकुमार मरासिनी समेत सहभागी थिए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई अर्थपूर्ण तरिकाबाट हेरिएको छ । देशको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि मौद्रिक नीतिमा परिवर्तन गर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् ।
शुक्रबार बैंकर र नेपाल राष्ट्र बैंकका गभर्नरसँग तरलता सहज गराउने विषयमा छलफल गरेका अर्थमन्त्री जनार्दन शर्माले आइतबार गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गरिरहेका छन् ।
लगानीयोग्य रकमको चरम अभाव हुँदै गएपछि त्यसले चौतर्फी असर पुर्याउन थालेपछि अर्थमन्त्री शर्मा गम्भीर बनेर सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेका नेपाल राष्ट्र बैंकसँग निरन्तर सम्वादमा छन् ।
शुक्रबार बैंकरसँग तरलता कसरी सहज गराउन सकिन्छ भन्ने बारेमा छलफल तथा बैंकरहरुको राय सुझाव मागेका थिए । त्यसपछि आइतबार मन्त्रालयमै गभर्नर अधिकारी र अर्थसचिवबीच छलफल चलिरहेको छ ।
बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नु केही दिन अघि र मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा आउनु केही दिन अघि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच निरन्तर छलफल चलिरहेको छ ।
केन्द्रीय बैंकले लिएको नीतिका कारण लगानीयोग्य रकमको अभाव भएको छ । बैंकले ब्याजदर बढाउन प्रतिस्पर्धा गरिरहेका छन् । सेयर धितो कर्जामा लगाइएको क्यापका बारेमा समेत अर्थमन्त्री शर्मा, गभर्नर अधिकारी र अर्थसचिव मरासिनीबीच छलफल भएको छ । गभर्नर अधिकारीको ब्रिफिङ सकिए पछि अर्थमन्त्री मुख्यसचिव शंकरदास बैरागीसँग पछि छलफलमा छन् ।