काठमाडाैं । युवा पुस्तामा राम्रो ‘फ्यान फलोइङ’ भएका नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्कालाई जगदम्बा मोटर्सले टीभीएस एनटर्क स्कुटरका लागि २ वर्षअघि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेपछि अटो बजारमा सकारात्मक प्रभाव देखियो । स्कुटरको आफ्नै प्रख्यात ब्रान्डमा रुचाइएका कलाकारहरू ब्रान्ड एम्बेसडर भएर प्रचार गर्न थालेपछि बिक्रीमा उल्लेखनीय सुधार भयो ।
कलाकार, खेलाडी र समाजमा स्थापित व्यक्तित्वहरूको क्रेजलाई क्यास गर्न विभिन्न कम्पनीले विभिन्न ब्रान्डमा छोटो समयको स्किम, अफरका लागि विज्ञापन खेलाउनेदेखि दुई वर्षदेखि पाँच वर्षसम्मका लागि ब्रान्ड एम्बेसडर नियुक्त गर्ने क्रम अहिले सामान्य भइसकेको छ ।
कुनै पनि वस्तु तथा सेवाका लागि प्रचार गर्न कोही न कोहीलाई उभ्याउनुपर्ने बाध्यतामा कम्पनीहरूले समाजमा ‘हिरोइज्म्’ छाप छोडेका पात्रहरूलाई छनौट गर्न थालेका छन् । नेपालजस्तो सानो बजार रहेको मुलुकमा बहुराष्ट्रिय कम्पनीहरूले पनि स्थानीय कलाकार र पात्रलाई नै राखेर विज्ञापन बनाउनेदेखि ब्रान्ड एम्बेसडर बनाउने गरेका छन् ।
सहर र गाउँमा एकैपटक प्रभाव पार्नका लागि कम्पनी तथा विज्ञापन एजेन्सीहरूले चलचित्र तथा म्युजिक भिडियोमा खेल्ने कलाकार, गीत–संगीत क्षेत्रका व्यक्तिहरूलाई अझ बढी स्थान दिने गरेको पाइन्छ । यसले पछिल्लो पटक कोभिडको मारमा परेको मनोरन्जन बजार र त्यसको सिधा प्रभावमा रहेका कलाकारहरूलाई राहत पनि मिलेको छ । कलाकारहरूलाई आफ्नो आर्थिक पक्ष सबल बनाउनका लागि पनि पछिल्लो पटक एम्बेसडरको भूमिका बलियो देखिन थालेको छ ।
कम्पनीहरूले कलाकारहरूको क्रेज हेरेर वार्षिक ५ लाखदेखि ३० लाखसम्म ब्रान्ड एम्बेसडरका लागि पारिश्रमिक तिर्ने गरेका छन् । कलाकार र कम्पनी दुवैले पारिश्रमिकालाई गोप्य राखेर सम्झौता गरे पनि कलाकारहरूको पारिश्रमिक वार्षिक रूपमा बढ्दै गएको छ ।
त्यसो त कम्पनीहरूले पनि आफ्नो प्रचारका लागि चर्चित मान्छेहरूलाई नै ब्रान्ड एम्बेसडर बनाउँदै आएका छन् । यो क्रम केही वर्ष पहिलासम्म सामान्य रूपमा रहे पनि पछिल्ला केही वर्षयता सञ्चार र प्रविधिले फड्को मारेसँगै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको छ ।
प्रदीप खड्का २०७७ पुसदेखि नेकेड एक्सप्रेस (कपडाको ब्रान्ड)को पनि ब्रान्ड एम्बेसडरमा नियुक्त छन् । खड्कालाई नेकेडले २ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । नेकेडका प्रबन्ध निर्देशक किशोर खतिवडाका अनुसार, पछिल्लो समय कम्पनीहरूले ब्रान्ड एम्बेसडर राख्ने क्रम तीव्र रूपमा बढेको बताउँछन् । कम्पनीको प्रडक्टलाई उपभोक्तामाझ परिचित बनाउन र बिक्री बढाउनका लागि नै स्थापित कलाकारहरूलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्ने हो । ‘हामीले खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेपछि बजारमा राम्रो प्रभाव बढेको छ,’ उनले भने ।
प्रदीप खड्कालाई नेकेडले वार्षिक ६ लाख रुपैयाँ दिएर ब्रान्ड एम्बेसडर बनाएको हो । साथै प्रभु बैंकको ब्रान्ड एम्बेसडरमा पनि प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ छन् । उनीहरूलाई २०७७ असोजमा प्रभु बैंकले एम्बेसडर नियुक्त गरेको हो । अर्काे रेडिमेड कपडाको ब्रान्ड ‘भ्याक्सिनो’ मा गायक प्रमोद खरेल ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । उनलाई कम्पनीले वार्षिक ४ लाख दिएर ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
भ्याक्सिनोका सञ्चालक प्रकाश प्रधानले भ्याक्सिनोको ब्रान्ड एम्बेसडर राख्दा कुनै कम्पनी र ब्रान्डसँग प्रतिस्पर्धा नगरी आफ्नो प्रडक्टलाई उपभोक्तासमक्ष पु¥याउन प्रचारमात्र गरेको बताउँछन् । उनले भने, ‘हामीले प्रमोद खरेललाई प्रतिस्पर्धा गरेर होइन, उहाँको चर्चा, फ्यान–फलोअर्स, व्यक्तित्वलगायतलाई ख्याल गरेर ब्रान्ड एम्बेसडर बनाएका हौं ।’
पुरुषहरूका लागि मात्रै कपडा उत्पादन गर्दै आएको भ्याक्सिनोले नेपाली बजारमा गत असोज १० गते आधुनिक गीत–संगीतका चर्चित गायक प्रमोद खरेललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो । गायक खरेल अल्फा इम्पेरियलमार्फत नेपाली बजारमा भित्रिएको भ्याक्सिनोको १ वर्षका ब्रान्ड एम्बेसडर बनेका छन् ।
भ्याक्सिनोसहित ३ वटा ब्रान्डमा ‘ब्रान्ड एम्बेसडर’को भूमिका निर्वाह गरेको गायक खरेलले बताए । कुनै पनि कम्पनीले ब्राण्ड एम्बेसडर बन्नका लागि अनुरोध गर्दा सामानको गुणस्तर, बजारको अवस्था र व्यवस्थापन पक्षलाई ख्याल गर्ने गरेको खरेलले बताए । साथै आर्थिक पक्ष पनि जोडिने उनले बताए ।
त्यस्तै गत असोज २० गते गायक तथा मोडल प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडर बनेका छन् ।
उनलाई रोयल पेन्ट्सले २ वर्षका लागि एम्बेसडरमा नियुक्त गरेको छ । एम्बेसडरमा नियुक्त भएसँगै गायक सपुतले पनि सामानको गुणस्तर, बजारको अवस्था, समाजमा पार्ने प्रभाव र व्यवस्थापन पक्षलाई ख्याल गरेर मात्रै एम्बेसडर बन्ने गरेको बताएका छन् ।
त्यस्तै गत वर्षको दसैंको घटस्थापनादेखि सान्भी इन्टरनेसनल कम्पनीको ‘अनार चामल’को ब्रान्ड एम्बेसडरमा प्रकाश सपुत र नायिका केकी अधिकारी रहँदै आएका छन् । साथै नयाँ ब्रान्डको कपडा ‘डीएनए क्लोथिङ’को ब्रान्ड एम्बेसडर पनि सपुत नै छन् । हालसम्म अफिसियल रूपमा प्रकाश सपुत ३ वटा (डीएनए क्लोथिङ, अनार चामल र रोयल पेन्ट्स)को ब्रान्ड एम्बेसडर बनेका छन् । यद्यपि सहकार्य भने धेरै कम्पनी र ब्रान्डसँग गरेको सपुत बताउँछन् ।
त्यसो त पूर्वमिस नेपाल शृंखला खतिवडा पनि रोयल पेन्ट्सको एम्बेसडरका रूपमा रहिसकेकी छिन् । यद्यपि खतिवडा अध्ययनका लागि नेपाल बाहिर रहेकाले सपुतलाई कम्पनीले नयाँ ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो ।
एनएमबी बैंकले अभिनेता पल शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । गत असोज १९ गते बैंकले शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । माछापुच्छ«े बैंकले २०७७ साउन २ गतेबाट नायिका तथा समाजसेवी स्वेता खड्कालाई माछापुच्छ«े बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ (महजोडी) नेपालमा सबैभन्दा बढी ब्रान्ड तथ कम्पनीको ब्रान्ड एम्बेसडरका रूपमा छन् ।
हाल महजोडीले २५ भन्दा बढी कम्पनीको वस्तु तथा सेवाका प्रचारका लागि काम गरिसकेका छन् । पछिल्लो पटक महजोडी सिटिजन लाइफ इन्स्योरेन्स (२०७४ मंसिरदेखि), सानिमा बैंक (विगत १० वर्षदेखि निरन्तर), रुद्र गंगा नेचुरल वाटर कम्पनी (२०७६ साउनमा), सेल पे (२०७६ जेठ १२), अम्बे स्टिलमा ब्रान्ड एम्बेसडर बन्दै निरन्तर देखिरहेका छन् ।
महजोडीले कम्पनी र प्रडक्ट हेरेर वार्षिक १० लाखदेखि ४० लाखसम्म पारिश्रमिक लिने गरेको विज्ञापन एजेन्सीहरूले जनाएका छन् । नायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई लुम्बिनी विद्युत् उद्योग प्रालिको लिट्मसमा गत असोजबाट ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । लिट्मसले उनीहरूलाई २ वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।
विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको उद्योग सन् १९७७ मा स्थापित नेपालको पहिलो एलुमिनियम कन्डकटर स्टिल रेनफोर्स (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कृषि विकास बैंकले पनि आफ्नो ब्रान्ड एम्बेसडरमा हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री
निरौलालाई पाँच वर्षअघिदेखि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । यसका लागि कृषि विकास बैंक र आमा सरस्वती मूभिज प्रालि सञ्चालकबीच सम्झौता भएको छ । त्यस्तै यो जोडीले १० वर्षदेखि रेमिट्यान्सको पायोनियर कम्पनी आईएमई मनी ट्रान्सफरसँग काम गर्दै आइरहेको छ ।
सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाले बज्र ग्रुपले १ वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो । त्यस्तै २०७५ साल पुस १८ गते राष्ट्रिय वाणिज्य बैंकले खतिवडालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । त्यसपछि बैंकले सन् २०१९ को मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त ग¥यो । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पनि श्रृङ्खला खतिवडालाई ब्रान्ड एम्बेसडरका रूपमा २०७७ फागुनबाट नियुक्त गरेको छ ।
हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् भने आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा अभिनेत्री मनीषा कोइराला छिन् । कोइरालाले वार्षिक १५ लाखभन्दा बढी लिने गरेर सम्झौता गरेकी हुन् । त्यस्तै नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्रान्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ३ वर्षअघि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो । अधिकारीको सम्झौता यसै वर्ष सकिँदै छ ।
नेपालमा कोकाकोलाको पनि ब्रान्ड एम्बेसडर रहेकी स्वस्तिमा खड्काले नेपाली कम्पनीदेखि बहुराष्ट्रिय कम्पनीले नेपाली कलाकारलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेर ब्रान्ड प्रबद्र्धन गर्दा कम्पनी र कलाकार दुवैलाई फाइदा भएको बताउँछिन् । ‘नेपालमा नेपाली कलाकारलाई राखेर ब्रान्ड प्रबद्र्धन गर्दा विश्वसनियता बढ्ने र कलाकारलाई पनि आर्थिक रूपमा बलियो हुने आधार भएको छ,’ उनले भनिन् ।