विराटनगर । पर्यटकीय सम्भावना बोकेको प्रदेश १ मा मनोरञ्जन पार्कहरु खुल्नेक्रम बढेको छ । केही समयअघि झापाको दमकमा सुविधासम्पन्न आधुनिक फनपार्क सञ्चालनमा आएको थियो ।
अहिले मोरङको बेलबारीमा दुई जनाको लगानीमा होटलसहितको सुविधायुक्त फनपार्क सञ्चालनमा आएको छ । बेलबारीका विजय सुवेदी र सुष्मा आचार्यको संयुक्त लगानीमा ड्रिमल्याण्ड फनपार्क सञ्चालनमा आएको हो ।
टुरिजम हस्पिटालिटीमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका सञ्चालक सुवेदी र आचार्यले फनपार्क बनाएका हुन् । गाउँलाई पर्यटकीय रुपमा विकास गर्ने र आफ्नो सीपलाई प्रयोग गरि सेवा दिने उदेश्यले ड्रिमल्याण्ड फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक सुवेदीले बताए ।
उनीहरुले लक्ष्मी बैंकबाट ऋण लिएर फनपार्क निर्माण गरेका हुन् । कोरोनाको पहिलो लहर अगाडि नै पार्क सञ्चालनमा आए पनि महामारी फैलिएपछि पार्क बन्द भएको थियो । कोरोना सामान्य भएपछि पनि पार्क त्यति चल्न सकेन । दुई हप्ताहदेखि पार्कमा आउनेको संख्यामा वृद्धि भएको सञ्चालक सुवेदीले जानकारी दिए ।
पार्क सञ्चालन गर्नुभन्दा अगाडी सुवेदीले पोखरा ग्राण्डमा ७ वर्ष र १० वर्ष काठमाडौंमा काम गर्नुका साथै कान्तिपुर ईन्टरनेशनल कलेजमा पनि पढाएका थिए । महिनामा लाखौं रुपैयाँ कमाईरहेका उनलाई आफ्नै गाउँमा केही गर्ने हुटहुटीले तान्यो । त्यसपछि उनले आफ्नो पढाईसँग सम्वन्धित व्यवसाय नै गर्ने निधो गरे र त्यहीअनुसार लगानी गरे ।
लगानी गरेर प्रतिफल पाउने बेलामा कोरोनाले थला पारिदिएपछि पनि उनीहरुमा निरासा छाएन । एक न एक दिन आफ्नो सपना पुरा हुने भन्दै उनले निरन्तर पार्कलाई व्यवस्थित बनाउने कामहरु गरिरहे । पार्कमा बच्चादेखि युवा र वृद्धाहरुसम्म रमाउन सक्ने सुविधा रहेको छ । कार्यक्रमहरु गर्न हल र होटलको पनि सुविधा छ ।
अब पिकनिकको सिजन सुरु भएसँगै पारिवारिक घुमघामका लागि मानिसहरु ड्रिमल्याण्ड पार्क पनि घुम्न आउन थालेका छन् । ड्रिमल्याण्ड पार्कमा २ सय बढी आनन्द लिने स्पटहरु छन् । पाँचतारे होटल सरहको १० वटा रुम पनि छन् । चिल्डे«न पार्क, ध्यान केन्द्र, स्विमिङ पुल, व्यायमशालादेखि अलग अलग तीनवटा रेष्टुरेन्ट छन् । फनफेस्टा आयोजना गर्ने खुल्ला स्थलहरु छन् । विदेशबाट कालिगढहरु ल्याएर पार्कलाई आकर्षक बनाईएको छ ।
पार्कमा अहिले ३५ जनाले रोजगारी पाएका छन् । आफ्नै गाउँका युवाहरुलाई आफुले प्राथमिकता दिएर सबै गाउँकालाई नै रोजगारी दिएको उनले बताए । गाउँको विकासका लागि गरिएको भएर पहिला सबै कुरामा आफुले गाउँलाई नै प्राथमिकतामा राख्ने गरेको उनको भनाई छ ।
पार्कमा कुनै दिन १० हजारसम्म मानिस आउने गरेको उनले बताए ।
उनले अस्पताल र होटल मेनेजमेन्ट स्कूल पनि पार्कभित्रै सञ्चालन गर्ने सोच बनाएका छन् । अझै पनि बेला बखत क्याम्पसहरु बढाउने काम गर्ने गरेको बताउँदै सुवेदीले केहि समयपछि पार्क भित्रै स्कूल सञ्चालन गर्ने बताए ।