काठमाडौं । निकासी–पैठारीजन्य व्यापारलाई सोझै काठमाडौं उपत्यकासँग जोड्ने उद्देश्यले राजधानीको चोभारमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम सुस्त गतिमा चलेको छ ।
कीर्तिपुर नगरपालिकास्थित चोभारका स्थानीयहरुको विरोधका कारण शिलान्यास भएको ८ महिना बितिसक्दा पनि निर्माण कार्यले तीब्रता पाउन नसकेको हो । जसका कारण निर्धारीत समयमै आयोजना सम्पन्न गर्न मुस्किल हुने देखिएको छ । हालसम्म आयोजनाको २० प्रतिशत मात्र काम सकिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत रहेको वन्दरगाहा निर्माणमा विश्व बैङ्कको सहयोग छ । सुख्खा बन्दरगाहाको काममा ढिलाई भएको निर्देशक युवक डङ्गोलको भनाइ छ ।
स्थानीयको विरोधका बाबजुत २०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । स्थानीयबासीको विरोधका कारण कामले गति लिन नसक्दा ६ महिना ढिलाई हुने देखिएको निर्देशक डंगोलले जानकारी दिए । ११.७७ हेक्टर जग्गामा निर्माण भरहेको बन्दरगाहको लागत १ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
बन्दरगाह निर्माण भएपछि काठमाडौंको लागि छुटेको सामानहरु सम्बन्धित नाकाबाट पास लिएर सिधै चोभारमा आएर मात्र चेकिङ हुन्छ । अहिले सम्बन्धीत नाकामै चेक जाँच हुने गरेका छन् ।
शिलान्यास भएको १८ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि स्थानीयको विरोधका कारण र बर्षातको कारण काम गर्न ढिलाई भएको उनको भनाइ छ । हालसम्म २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
२०७७ असार मसान्तमा कार्यसम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको भन्सार कार्यालयसँग समन्वय गनुपर्ने भएकोले निर्माण सम्पन्न भएको ३ महिनापछि मात्र पूर्ण रुपमा सञ्चालनमा आउने अपेक्षा समितिको रहेको छ ।
स्थानीयहरुले हिमाल सिमेन्टमा कार्यरत कर्मचारीहरुले लामो समयदेखि तलब नपाएको र मुआब्जा पाउनु पर्ने माग राख्दै आएका थिए । हिमाल सिमेन्टका सञ्चालकसँगको समन्वयमा तलबको समस्या समधान गरिएको र मुआब्जा पहिलानै पाइसकेकोले दोस्रो पटक दिनु नपर्ने देखिएको डंगोलको भनाइ छ ।
यस विषयमा त्यहाँका स्थानीयहरुलाई राजी गरिसकेको र केहि साता भित्रै सार्वजनिक सुनुवाई गर्ने तयारी समितिको रहेको जनाएको छ ।स्थानीयहरुको विरोध रोकिएपछि अहिले कामले तीब्रता पाएको जनाएको छ । बन्दरगाहको काम दुई ओटा निर्माण कम्पनीहरु सान्छी आशिस जेभी भरतपुर र लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वरले गरिरहेको छ ।
सान्छी आशिस जेभीले बन्दरगाहाको मूल भवन,पार्किङ स्थल र गोदाम लगाएतका सरचनाहरु निर्माण गरिरहेको छ भने लुम्बिनी – कोशी एण्ड न्यौपाने जेभीले समितिको कार्यालय भवन एवं भन्सार सम्बन्धी भवन र अन्य पूर्वाधारहरु निर्माण गरिरहेको छ ।
यस्ता छन् सुविधाहरु
बन्दरगाहा भित्र ५ ओटा गोदाम घर, प्रशासनिक भवन, सुरक्षा निकाय बस्ने २ ओटा भवन,सवारी नापतौल तथा नियन्त्रण कक्ष, कन्टेनर ग्राउण्ड स्लट ६ हजार वर्गमिटर,एक्जीम क्षेत्र १ सय १६(चार तहमा राख्न मिल्ने),३ सय ५० ओटा ट्रक पार्किङ,ढल प्रशोधन केन्द्र,कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली,फायर फाइटिङ , सिसिटिभि र सुरक्षाको व्यवस्था हुने छ ।