काठमाडौं । विगत ६ वर्षदेखि मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई संरक्षण गरेर सडक निर्माणमा चासो नदेखाएको भन्दै दोलखाबासीले फेरि आन्दोलन सुरु गरेका छन् ।
यस अघि सम्बन्धी ठेकेदारको फोटो गाडीमा राखेर विरोध गरेपनि यो पटक भने भौतिक पूर्वधार मन्त्री,सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका हुन् ।
बहिरो सरकार, सरकार हाम्रो सडक कहिले बनाउने र ठेकेदारलाई किन संरक्षण गरेको लगाएतका प्रश्न राखेर सार्वजनिक बसमा पोष्टर टासेर विरोध सुरु गरेका हुन् ।
उनिहरुले भौतिक पूर्वधार मन्त्री रेणुकुमारी यादव,सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो टासेका हुन् । अलपत्र सडक निर्माणमा कुनै निकायको चासो नदेखाएको भन्दै बाध्य भएर मन्त्री,सचिव र महानिर्देशकको फोटो टासेर दबाब दिन सुरु गरिएको स्थानीय दिपक तामाङको भनाई छ ।
सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का पाएको हो । ७९ करोडमा निर्माण सम्झौता भएको सडकको सोही वर्षदेखि काम सुरु गरेको थियो ।
ठेकेदारले वर्षौदेखि सडक अलपत्र पार्दापनि सरकारले टुलुटुलु हेरेर मात्र बसेको र ठोस कदम नचालेको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको सामाजिक अभिन्तता एवंम पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य गोकर्णप्रसाद भण्डारीको भनाई छ ।
यस अघि पनि दोलखाबासीले विभिन्न चरणमा आन्दोलन गरेका थिए । सडक निर्माण ढिलासुस्ती र लापरबाही गर्ने निर्माण कम्पनी र ठेकेदार विरुद्ध यस अघि नागरिक समाजकोा अगुवाईमा शंख फुक्ने ,मानव साङ्लो बनाउने,एक रुपैया उठाएर ठेकेदारलाई बुझाउने लगाएतका दबाबमुलक आन्दोलन गरिसकेको छ ।