जब कुनै कम्पनी आक्रामक रुपमा अघि बढ्न थाल्छ तब कम्पनी असफल भयो भने देशको बृहत् अर्थतन्त्रमा कस्तो असर पर्ला भनेर सरकारलाई ठूलो चिन्ता र भय हुन्छ । हाल चीनको इभरग्राण्ड त्यहीँ बृहत् रियल स्टेट डेभलपर कम्पनी हो जुन चिनियाँ अर्थतन्त्रका लागि अहिले टाउको दुखाइको विषय बनिरहेको छ । बिक्रीका आधारमा इभरग्राण्ड चीनको दोस्रो ठूलो प्रोपर्टी डेभलपर कम्पनी हो । साथै यो कम्पनी विश्वको फर्चुन फाइभ हन्ड्रेड कम्पनीको १२२ औं स्थानमा पर्न सफल भएको छ ।
तर, इभरग्राण्ड ऋणले थलिएर केही महिनायता ‘लाइफ सपोर्ट स्टेजमा’ बाँचिरहेको छ । पछिल्लो समय आएको चीनको तेस्रो त्रैमासिक आर्थिक समीक्षा र सुधारोन्मुख नहुने चिनियाँ संकेतले कम्पनी ध्वस्त हुने विज्ञहरुले चेतावनी दिन थालेका छन् ।
फिच, मोड्डी तथा एस एन्ड पी लाभिन जस्ता रेटिङ फर्महरुले पनि इभरग्राण्डसँग पैसा र समयको अभाव खट्किरहेको बताएका छन् । हाल इभरग्राण्डेमाथि ३ खर्ब डलरभन्दा धेरै रकमको ऋणभार छ । चालु पुँजीको अभावमा सयौं आवासीय भवनहरु निर्माणाधीन अवस्थामै रोकिएका छन् । आपूर्तिकर्ताहरुले समेत पैसा नपाउन थालेपछि निर्माण साइट नै बन्द गर्न थालेका छन् ।
कम्पनीले ‘ओभरड्यु विल’ तिर्न नसकेपछि सम्पन्न नभइसकेका निर्माणाधीन प्रोपर्टीहरु नै हस्तान्तरण गर्न थालेको छ । यति मात्र होइन कम्पनीले आफ्नै कर्मचारीहरुसित समेत पैसा सापटी माग गरेको थियो ।
यसरी संकटग्रस्त बन्यो इभरग्राण्ड
एक दशकअघि आफ्ना स्वर्णिम दिनमा इभरग्राण्डले बोटल वाटर बेच्ने गथ्र्याे । उसले चीनको सर्वोत्कृष्ट व्यावसायिक सोक्कर टिमलाई खरिद गर्यो र सुँगुर फार्मिङमा पनि लगानी गर्यो । इभरग्राण्ड विस्तारै यति ठूलो आकारमा विस्तार हुन थाल्यो कि उसले एउटा विद्युतीय कार निर्माण गर्ने युनिटसमेत खडा गर्यो । तर, उसले ठूलो उत्पादनमा भने ढिलाइ गर्यो । तर, अहिले इभरग्राण्ड चीनका ठूला बैंकहरुका लागि समस्याका रुपमा उदाएको छ ।
१९९६ मा स्थापना भएको यो कम्पनीलाई चीनको प्रोपर्टी बजारलाई ‘बूम’ गराउनमा ठूलो श्रेय जान्छ । चीनको ठूलो भागलाई सहरीकरण गरेको इभरग्राण्ड चिनियाँ अर्थतन्त्रमा सधैं शक्ति केन्द्रको रुपमा रह्यो । इभरग्राण्ड कै कारण बुम भएको प्रोपर्टी मार्केटका कारण चिनियाँ अर्थतन्त्रको विकासले द्रुत गति फड्को मार्यो ।
कम्पनीका संस्थापक अर्बपति छु जियायिन त चिनियाँ पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका सदस्य पनि हुन् । यो राजनीतिक रुपमा जोडिएका समृद्ध व्यक्तिहरुको समूह हो । छु जियायिनकै राजनीतिक निकटताका कारण इभरग्राण्डलाई नयाँ व्यवसाय र आकारमा विस्तार गराउन ऋणदाताहरुले ढुक्क भएर पैसा खन्याइरहे । यसैकारण अन्ततः इभरग्राण्ड कहिल्यै भुक्तानी नै गर्न नसक्ने ऋणभारले थिचिएर बन्द हुने अवस्थामा पुगेको छ ।
पछिल्लो वर्षहरुमा इभरग्राण्डले आफ्ना घर बनाइदिने बाचा गरेका धेरै ग्राहकहरुबाट कानुनी मुद्दाका झमेला पनि झेल्न पर्यो । इभरग्राण्डको बाचामा विश्वस्त भई पैसा तिरेका धेरै ग्राहकहरु अझै पनि घर पूरा हुने आशामा छन् । आपूर्तिकर्ता तथा ऋणदाताहरुले कम्पनीको नाममा अर्बौं डलर ऋण ‘आउटस्ट्यान्डिङ बिलमा’ रहेको दाबी गरिरहेका छन् । कतिपय मुद्दामा त इभरग्राण्डका निर्माण प्रोजेक्ट नै निलम्बित छन् ।
किन समस्यामा छ कम्पनी ?
यदि इभरग्राण्डको बाटोमा दुइवटा समस्या नआएको भए उसको गति निरन्तर अघि बढ्ने थियो । पहिलो चिनियाँ नियामकले लापरवाही रुपमा ऋण सहायता लिने प्रोपर्टी डेभलपर्सहरुको स्वभावमा अंकुश लगाउने नीति लियो । यसले गर्दा इभरग्राण्डले आफ्नो व्यावसायिक साम्राज्यका केही व्यवसायहरु बेच्नु पर्यो जसले राम्रोसँग काम गरिरहेको थिएन ।
कम्पनीले आफ्नो विद्युतीय सवारी उत्पादन गर्ने व्यवसाय बिक्रीको तयारी गरेको छ । केही सम्भावित खरिदकर्ताहरुसँग छलफल पनि चलाइरहेको छ तर खरिदकर्ताहरु पनि इभरग्राण्डलाई निचरेर सस्तो मूल्यमा कम्पनी हडप्ने सोचमा छन् । दोस्रो कारण चीनको प्रोपर्टी मार्केट आफैं सुस्ताउनु पनि हो । हाल चीनमा प्रोपर्टी तथा नयाँ अपार्टमेन्टहरुको माग घटिरहेको छ । यिनै कारणले हाल चीनको आर्थिक विकासलाई सुस्ताउन बाध्य पारेको छ । यसले इभरग्राण्डको प्रोपर्टीको मागलाई थप प्रभावित पार्दै लग्ने देखिन्छ ।
हाल इभरग्राण्डले कम्पनीलाई सञ्चालन गरिरहेको रकमको सबै यसअघि बिक्री भएका तर निर्माण सम्पन्न गर्न बाँकी अपार्टमेन्टबाट आएका हुन् । इभरग्राण्डको हाल देशभर करिब ८ सय परियोजना सम्पन्न हुन बाँकी छन् जुन अलपत्र अवस्थामा छन् । बारक्लेजको आँकडाअनुसार इभरग्राण्डको भरमा परी अझै करिब १६ लाख चिनियाँ जनताहरु नयाँ घरमा बसाई सर्ने प्रतीक्षामा छन् ।
कम्पनीले आफ्नो नयाँ अपार्टमेन्टहरुको मूल्य घटाएको छ तर यसले पनि ग्राहक तान्न सकिरहेको छैन । गत अगस्टमा उसले अघिल्लो वर्षको तुलनामा एकदमै धेरै कम बिक्री गरेको थियो ।
चिनियाँ नियामक बचाउला त ?
बेइजिङ त बचाउने पक्षमा देखिँदैन । तर, इभरग्राण्ड समाप्त (कोल्याप्स) भएको अवस्थामा यसले चिनियाँ अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउने देखिन्छ । धेरै घरमालिक, आपूर्तिकर्ता, घरेलु लगानीकर्ताहरु अलपत्र पर्ने छन् । तर, विगतका दृष्टान्तहरुलाई हेर्ने हो भने बेइजिङले सधैं ठूला कम्पनीहरुलाई ठूलो समस्यामा सहायता प्रदान गर्दै आइरहेको छ ।
बेइजिङको यहीँ उद्धार छविका कारण लगानीकर्ताहरुले पनि ढुक्क साथ इभरग्राण्डमा लगानी गरेका थिए । बेजिङले दशकौंसम्म यो अपेक्षा पूरा पनि गरिरह्यो । तर, अहिले आएर चीनले देशको स्थायी ऋण समस्याको दिगो समाधानका लागि बरु ठूला कम्पनी ढले पनि नीतिमा परिवर्तन नगर्ने दृढ संकल्प देखाएको छ ।
प्रशासनले गत अगस्टमै इभरग्राण्डका कार्यकारीलाई बोलाएर सम्पूर्ण ऋण क्रमिक रुपमा चुक्ता गर्न निर्देशन दिइसकेको थियो । साथै बैंकहरुलाई समेत प्रोपर्टी डेभलपरहरुको हकमा ऋण परिमाण निरन्तर घटाउन आह्वान गरको थियो । इभरग्राण्डले सेप्टेम्बर १४ मा कम्पनीलाई बचाउन सम्पूर्ण सम्भावित समाधानहरुको खोजी गर्न पुनसंरचना विज्ञ (रिस्टक्चरिङ एक्सपर्ट) हरु कम्पनीमा ल्याइसकेको बताएको थियो ।
इभरग्राण्डको असफलताले चीनको अर्थतन्त्रमा पर्ने असर
चीन सरकारले अख्तियार गरेको नीतिबाट इभरग्राण्ड ध्वस्त भए चीनको वित्तीय प्रणालीमा थोर बहुत मात्र असर पर्ने कुराहरु आएका छन् । तर, वास्तविकता निकै जटिल छ । आक्रामक भएका लगानीकर्ता तथा घर धनीहरुको रिस प्रोपर्टी बजारमा खनिएको अवस्थामा यसले मूल्यमा असर पर्ने देखिन्छ । यसले वैश्विक वित्तीय बजारलाई समेत हल्लाउने र वैदेशिक लगानीबाट चलिरहेको चिनियाँ कम्पनीहरुका लागि नियमित लगानी जुटाउने अप्ठ्यारो पार्ने देखिन्छ ।
गत अगस्टमा फाइनान्सियल टाइम्समा धनाढ्य लगानीकर्ता जर्ज सोरेसले इभरग्राण्डको बर्बादीले चीनको ‘इकोनोमीलाई क्र्यास’ पार्न सक्ने चेतावनी दिएका थिए । इभरग्राण्डको बर्बादीपछि वित्तीय संस्थाहरु जोखिम सचेत बन्ने र त्यसले समग्र अर्थतन्त्रमा क्रेडिट क्रन्च ल्याउनसक्ने विज्ञहरुको चेतावनी छ ।
तर, सबै निराशावादी मात्र छैनन् । चाइना रेनासा सेक्युरिटीजका अर्थविद् ब्रुस पाङका अनुसार यो कमजोर जग भएको व्यवसाय ढलेमा यसले भविष्यमा स्वस्थ अर्थतन्त्रका लागि जग बसाल्न सहयोग गर्ने बताउँछन् । इभरग्राण्डको बर्बादीले अल्पकालीन पीडा र समस्याका बाबजुद यस्ता संकटविरुद्धको बेजिङको प्रतिरक्षा कति मजबुत छ भन्ने कुरा देखाउने पाङ बताउँछन् ।
वैदेशिक लगानीकर्ता सचेत हुनुपर्छ
वैदेशिक लगानीकर्ताहरुलाई मात्र अर्को वर्ष ७ अर्ब ४० करोडको बण्ड तिर्ने इभरग्राण्डलाई दायित्व छ । यसैकारण ‘पेनिकमा’ रहेको इभरग्राण्डले यस वर्ष धेरैपटक दोस्रो बजार (सेकेण्डरी मार्केट) मा बण्डलाई न्यून मूल्यमा ट्रेडिङ गरायो । कतिपटक त इभरग्राण्डको बण्ड डलरको सानो एकाइ २५ देखि ५० सेन्टसम्ममा कारोबार भए । ऋणमा पनि उन्मत्त रुपमा ट्रेड गरेपछि त एकपटक नियमकले समेत इभरग्राण्डलाई ट्रेडिङ रोक्न निर्देशन दिएको थियो ।
हङकङमा सूचीकृत कम्पनीको मुख्य सेयरले विगतको वर्षमा आफ्नो मूल्यको तीन चौथाइभन्दा धेरै गुमाउन पर्यो । अहिले वैदेशिक लगानीकर्तालाई पनि इभरग्राण्ड असफल भए आफ्नो धेरै पाउन पर्ने पैसा हावामा बिलाउने डर छ । बेजिङ प्रशासनले समेत विदेशी तथा स्वदेशी बण्ड होल्डरलाई ‘बेलआउट’ नदिने संकेत दिइसकेको छ ।
(न्युयोर्क टाइम्सबाट साभार गरिएको यो लेखलाई अलेक्सजेन्ड्रा स्टिभिनसन र काओ लिले लेखेका हुन् )
यो पनि हेर्नुहोस
३ खर्ब डलर ऋणमा डुबेको चीनको विशाल घरजग्गा कम्पनी एभरग्य्रान्डेलाई राहत, ब्याज तिर्ने सहमति
चीनको विशाल घरजग्गा कम्पनी एभरग्र्यान्डे टाट पल्टिनै अवस्थामा, ३०० अर्ब डलर बैंकको लगानी जोखिममा