काठमाडौ । सुनको भाउ आकासिएपछि तीजलगायत चाडपर्व नजिकिएका बेला नेपाली बजारमा सुनको कारोबार भारी गिरावट आएको छ । पछिल्लो समयमा सुनको कारोबार ७५ प्रतिशत भन्दा बढी घटेको सुन व्यावसायीले बताएका छन् ।
तीजलगायत अन्य चाडवाडका बेला दैनिक औसत ६० किलो सुनको कारोबार हुने गरेकामा अहिले प्राय ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउछन ।
गत बर्षको यही अवधिमा भएको सुनको कारोबारको तुलनामा अहिले ७५ प्रतिशत गिरावट आएको शाक्यले जानकारी दिए । ‘विगतमा चाडवाडका बेला सुनको कारोबार दैनिक ६० किलोभन्दा बढि हुन्थ्यो । त्यसबेला अझै बढी सुनको माग आउथ्यो । माग पूर्ति गर्न सक्दैनथ्यौं’ उनले क्यापिटल नेपालसंग भने, ‘अहिले सुनको भाउ बढेपछि कारोबार ठप्प छ । विगतमा भन्दा ७५ प्रतिशत कारोबारमा कमी आयो ।’
पछिल्लो समयमा लगातार अन्तर्राष्ट्रिय बजारमा मुल्य बढी रहेकोले यसको असर नेपाली बजारमा परेको शाक्य बताउछन । यसरी दिन प्रति दिन बजार मुल्य आकासिदै गएको छ । हाल सुनको मूल्य तोलको ७१ हजार रुपैयाँ हारहारीमा छ । सुन बिक्री नभएपछि बैङ्कहरुसंग ७०० किलो भन्दा बढी सुन सञ्चिती रहेको छ । व्यवसायीले बैङ्कहरुबाट सुन खरिद गर्दै आएका छन ।
अन्र्तर्राष्ट्रिय बजारमा डलरको मुल्य बढ्नु, चीन र अमेरिकाबीच व्यापारीक युद्धका कारण अर्थतन्त्र आएको उतारचढाव बमोजिम सुनको भाउ बढेको हो । अमेरिकमा र चीनबीचको व्यापार युद्धले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा भाउ बढेको छ । विश्व बजारमा अहिले सुनको माग बढेको व्यवसायीको भनाई छ । केन्द्रीय बैङ्कहरुले अहिले सुनको सञ्चिती बढाएका छन ।
२०७६ को सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउ भदौं ६ गतेसम्म प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो केही दिनयता सुनको भाउमा केही स्थिरता देखिए पनि अझै बढ्न सक्ने शाक्यको ठम्याइ छ ।
गतबर्ष यसै समयमा सुनको मुल्य झन्डै तोलको ५९ हजार रुपैयाँ थियो । गत वर्षको तुलनामा तोलाको १२ हजार रुपैयाँ बढी सुनको भाउ बढेको हो । गतबर्षको तुलनामा अहिले २० प्रतिशतले सुनको भाउ वृद्धि भएको छ ।
कालीगढ भए बेराजगार
अहिले नेपाली बजारमा सुन भाउ बढेकाले माग निकै कम छ । सुनचादी पसलमा कार्यरत कालीगढ र सुन व्यापारी बेरोजगार जस्तै भएका छन् । सुन किन्न र बनाउन ग्राहक नआउँदा कालीगढहरु कामबिहीन बनेका हुन् । कारोबार नहुँदा दैनिक रुपमा हुने खर्च, भाडा, तलव र अन्य प्रशासनिक खर्च चलाउन मुस्किल भएको शाक्यले बताए । अहिले सुन बेच्न चाहेपनि सुन व्यापारीले सहजै स्वीकार्दैनन् ।