काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ उनले भने ।
आज भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने, “बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन अझै निकै समस्या आउने देखिन्छ, यो समस्यालाई समाधान गर्ने गरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई तुरुन्त कदम चाल्न म आग्रह गर्दछु, अब नयाँ मौद्रिक नीति आउँदा यो समस्यालाई सम्बोधन गर्ने गरी नीति आउनु आवश्यक छ ।”
उनले यो समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए। वरिष्ठ उपाध्यक्ष ढकालले यस वर्ष बजेट ल्याउन ढिला हुँदा सरकारी खर्च कम भएको र विप्रेषणको आप्रवाह पनि घट्न पुगेको भन्दै यसले बजारमा तरलता अभाव देखिएको बताए ।
निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इञ्जिन भएका उहाँले चर्चा गर्नुभयो । मुलुकमा व्यावसायिक सफलता आएमा देशको आर्थिक वृद्धि भई रोजगारी सिर्जना हुने भन्दै उपाध्यक्ष ढकालले विकासोन्मुख देशमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुने पनि स्पष्टपारे।
कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले भक्तपुरलाई हस्तकलाको राजधानीका रुपमा विकास गर्न सङ्घले आगामी पाँच वर्षे ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले अबको नयाँ नेतृत्व सर्वसम्मतरुपमा आउनुपर्नेमा जोड दिँदै सङ्घको गतिविधिलाई चलायमान बनाउने बताए । त्यसअवसरमा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो ।