काठमाडौं । चालू आर्थिक वर्षभित्रमा काठमाडौं उपत्यकामा वैकल्पिक व्यवस्थाका लागि पानी ल्याउने मुहानको पहिचान हुने भएको छ । योजना तथा वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सुनीलकुमार दासका अनुसार चालू आर्थिक वर्षमा सम्भावित क्षेत्रको प्रारम्भिक अध्ययन कार्य सम्पन्न भई उपयुक्त स्थानको पहिचान हुन्छ ।
ललितपुरको ठोस्ने खोलामा शुक्रबार खानेपानी मन्त्रालयको टोली प्रारम्भिक अनुसन्धानका लागि पुगेको छ । मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुगेसँगै वैकल्पिक व्यवस्थापनका लागि मन्त्रालयले ठोस्ने खोलाको पानी ल्याउनका लागि अध्ययन गर्न लागेको हो ।
करिब ४० वर्ष पहिला काठमाडौं उपत्यकामा खानेपानी ल्याउनका लागि २०/२१ वटा विकल्प अघि सारिएको थियो । जसमध्ये मेलम्ची खानेपानी आयोजना, कुलेखानी, त्रिशूली, ठोस्ने खोलालगायत रहेको महाशाखाका प्रमुख दासले बताए । उक्त विकल्पमध्ये हाल निर्माण सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनामा असारमा बाढीले क्षति पुगेको छ भने अन्य विकल्पहरुमा अध्ययन गर्ने तयारी हुँदैछ ।
‘ठोस्ने खोलाको अध्ययन पनि भएको थियो तर, त्यो धेरै पुरानो भएकाले फेरि अध्ययन गर्न लागिएको हो । त्यसका लागि टोली गएको छ ।’ महाशाखा प्रमुख दासले भने, ‘बागमतीको धापमा एउटा ड्यामको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, त्यो अन्य प्रयोजनका लागि बनाइएको भए पनि त्यसलाई हाल खानेपानीको रुपमा प्रयोग गर्न सकिन्छ ।’
त्यस्तै खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरीको पानी काठमाडौं उपत्यकामा ल्याउनका लागि करिब ४ महिनामा खाका तयार गर्ने भएको छ । मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि उपत्यकामा पानीको वैकल्पिक व्यवस्थाका लागि बोर्डले सिस्नेरीको पानी उपत्यकामा ल्याउन लागेको हो ।
बोर्डका सूचना अधिकारी उदयकुमार केसी भन्छन्, ‘३/४ महिनामा एउटा खाका तयार गर्न सकिन्छ, त्यसपछि लागत तथा ड्याम बनाएर पानी ल्याउनुपर्छ कि पम्प गरेर भन्ने थाहा हुन्छ ।’ मेलम्ची खानेपानी आयोजनामा गत असार १ र साउन १६ गतेको बाढीले क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आपूर्तिका लागि वैकल्पिक व्यवस्थाको तायरी थालिएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बोर्ड र खानेपानी मन्त्रालयलाई पानीको वैकल्पिक व्यवस्थाका लागि अनुरोध गरेको थियो । सोहीअनुसार बोर्डले सिस्नेरीबाट पानी ल्याउन तयारी गरेको हो । हाल खानेपानी मन्त्रालयले बोर्डलाई मौखिक रूपमा कार्य योजना अगाडि बढाउन अनुमति दिएको सूचना अधिकारी केसीले बताए ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यका अनुसार, केयूकेएलले नव नियुक्त खानेपानी मन्त्री उमाकान्त चौधरीलाई मेलम्चीको क्षति र वैकल्पिक व्यवस्थापनबारे जानकरी गराएको थियो । मन्त्री चौधरीले पहिलो प्राथमिकतामा मेलम्ची पुनःनिर्माणलाई नै राखेको सीईओ शाक्यको भनाइ छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘मन्त्रीले पहिलो प्राथमिकता मेलम्चीलाई दिनुभएको छ, सँगै पानीको वैकल्पिक व्यवस्था गर्न निर्देशनसमेत दिइ सक्नु भएको छ ।’
पानीको वैकल्पिक व्यवस्थापनको लागि मन्त्रालयमा छलपल भइ रहेको मन्त्रालयका सूचना अधिकारी विनोद कुमार खनाल बताउँछन् । यसअघि सरकार परिवर्तनको कारण मन्त्रीको अभावले निर्णयहरु अगाडि बढ्न नसकेको बताइएको थियो । हाल नयाँ खानेपानी मन्त्रीका रूपमा चौधरी नियुक्त भएको एक महिना भइसकेको छ । उनले गत सोमबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अध्ययनसमेत गरेका थिए ।
बाढीले क्षति पुर्याएसँगै मेलम्चीको पानी आपूर्तिमा अनिश्चितता भएको छ । हालसम्म पनि क्षतिको एकिन विवतरण आउन सकको छैन । मन्त्रालय, केयूकेएल, व्यवस्थापन बोर्डलगायतले वैकल्पिक व्यवस्थाका लागि असारदेखि नै छलफल गर्दै आएका छन् ।
केयूकेएलले पनि उपत्यकामा पानीको माग धान्न ५ करोड लागतमा १० वटा नयाँ ट्युवबेल खन्ने तयारी थालेको छ । सीईओ शाक्यका अनुसार चक्रपथ क्षेत्रका भन्दा बाहिरका नगरपालिकामा पानीको सम्भावना बढी हुने भएकाले सोहीअनुसार छलफल अघि बढाइएको छ ।
हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकोमा केयूकेएलले वर्षात्को समयमा १५ देखि १७ करोड लिटर र हिउँदमा ७ देखि ८ करोड लिटर पानी वितरण गर्दै आएको छ ।